२०८२ असार १५, आइतवार , ०२:४१:१० बजे

Sajhamanch
'

यू–१६ इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई ३७० रनले हरायो

आइतवार, असार १५, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले इन्डोनेसियालाई ३७० रनले हराएको छ ।

नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४ ओभर तीन बलमा ५० रनमै अलआउट भयो । इन्डोनेसियाका कभिन नीरज चड्डाले सबैभन्दा धेरै १५ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ६ विकेट लिए ।

यसअघि मलेशियाको सेलाङ्गोर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर ४२० रन बनायो । नेपालका प्रसिद्ध जैशीले शतक बनाए ।

प्रसिद्ध ११४ बलमा १३२ रन बनाएर आउट भए । यस्तै रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रन बनाए । इन्डोनेसियाका केतुत दर्मा पुत्राले दुई विकेट लिए ।

यो नेपालको उमेर समूहदेखि राष्ट्रिय टोलीले ५० ओभरको खेलमा बनाएको सबैभन्दा धेरै रन हो । यो जीतसँगै नेपाल लगातार तेस्रो जीतसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई नौ विकेटले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि भूटानसँग खेल्नेछ ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।

यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ ।

सम्बन्धित खबर