
झापा । इरानमा अमेरिकाले पनि आक्रमण गर्न थालेको छ । इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो ।
इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेको राष्ट्रपति ट्रम्पले जानकारी दिएको बीबीसीले जनाएको छ ।
अब शान्तिका लागि पहलकदमी अगाडि बढाउनुपर्ने समय आएको अमेरिकी राष्ट्रपतिको भनाइ छ । इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्नेमा उनको जोड छ ।
इजरायलले इरानमा गएको जुन १३ देखि आक्रमण शुरु गरेको थियो । यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने या नहुने छिट्टै निर्णय लिने बताएका थिए।
इरानमाथि अमेरिकी आक्रमणलगत्तै उनले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सम्बोधनमा इरानमाथिको आक्रमण र अमेरिकी रणनीतिको विवरण आउनसक्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।