
काठमाडौं । राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी परेको छ । चैत १५ गते शुक्रबार काठमाडौंको प्रदर्शनको क्रममा भएको हुलदंगाको क्षतिको ५ करोड ४९ हजार ४२१ रूपैयाँ बराबरको मागदाबी परेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार १२ वटा निर्जीवन बीमा कम्पनीहरूमा उक्त रकम बराबरको बीमा दाबी परेको छ । यी कम्पनीमा ५० वटा दाबी पेस भएको छ । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले मात्रै दाबी भुक्तानी गरेको छ ।
शिखर इन्स्यारेन्समा ४ लाख ९८ हजार २१३ रुपैयाँ बराबरको पाँच वटा माग दाबी परेको छ । दाबी परेका सबै भुक्तानी यस कम्पनीले दिइसकेको छ । अन्य दाबी परेका ११ कम्पनीहरूले भने हालसम्म भुक्तानी गरेका छैनन् ।
सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीमा दाबी पेस परेको छ । यस कम्पनीमा १ करोड २७ लाख रुपैयाँ बराबरको २ वटा बीमा दाबी पेस भएको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको ९ वटा दाबी परेको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७५ लाख ४९ हजार माग दाबी परेका छ भने नेको इन्स्योरेन्स कम्पनीमा ५२ लाख रुपैयाँ बराबरको परेको छ ।
दि.ओरिएन्टल इन्स्योरेन्समा ४७ लाख ५० हजार, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार, हिमालय एभरेष्ट इन्स्योरेन्समा २२ लाख, आइजीआई प्रूडेन्सियलमा १७ लाख ६० हजार, नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार र प्रभु इन्स्योरेन्समा ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।