काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस भएका छन् ।
यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएको छ ।
डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् । अर्का सदस्य भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन् ।
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।
यही व्यवस्था अनुसार सिफारिस समितिले उनीहरुको नाम प्रस्ताव गरेको हो । जसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीले प्रमुख आयुक्त र आयुक्तको सिफारिस भएको पुष्टि गरेकी हुन् ।