
काठमाडौं । भारतको विदेश मन्त्रालयले सन् २०२६ का लागि कैलास मानसरोवर यात्राको औपचारिक घोषणा गर्दै आवेदन खुला गरेको छ।
भारतको विदेश मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुने जनाइएको छ।
मन्त्रालयका अनुसार आगामी जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन हुनेछ। यसबारे नेपाललाई भने कुनै जानकारी दिइएको छैन।
यो यात्राका लागि भारतले उत्तराखण्ड हुँदै लिपुलेक पास र सिक्किमको नाथुला पास गरी दुईवटा मार्ग तय गरेको छ।
नेपालको लिपुलेक र कालापानी क्षेत्र अहिले भारतको नियन्त्रणमा छ। भारतले यो भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ भने नेपालले औपचारिक रूपमै यसबारे विरोध जनाएको छ।
लिपुलेक हुँदै चीन र भारतबीचको नाका सञ्चालनमा ल्याउने दुई देशबीच सहमति हुँदा पनि नेपालले त्यसको विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो।
भारत–चीन युद्धपछि सन् १९६२ तिर भारतीय सेना कालापानी क्षेत्रमा आएर बसेको थियो।
त्यो बेला राजा महेन्द्रको शासन थियो र त्यसबेला नेपालले औपचारिक रूपमा भारतीय अतिक्रमणको विरोध गरेन।
प्रजातन्त्र स्थापनापछि १९९० को दशकमा लिपुलेक र कालापानीको विवाद चर्कियो। सन् १९९८ मा आफ्नो भारत भ्रमणका बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले यो विषय भारतसँग औपचारिक रूपमा उठाएका थिए। त्यसपछि दुई देशबीच यो विषय सल्टाउन संयन्त्र बने पनि विवाद अहिलेसम्म कायमै छ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा लिपुलेकबाट १० वटा टोली र सिक्किमको नाथुलाबाट १० वटा टोली कैलास यात्रामा जान सक्ने उल्लेख गरेको छ। प्रत्येक टोलीमा ५० जनाका दरले कुल एक हजार जना यात्री सहभागी हुन सक्नेछन्।
यात्रामा जान चाहनेहरूले यात्राको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति मे १९ तोकिएको छ।
आवेदन दिनेमध्येबाट यात्रीहरूको छनोट कम्प्युटर प्रणालीबाट ‘रेन्डम’’ विधिद्वारा गरिने मन्त्रालयले जनाएको छ। छनोट प्रक्रियामा लैंगिक सन्तुलनलाई समेत प्राथमिकता दिइने उल्लेख छ।


