
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुने बताउनुभएको छ ।
पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका सुअवसरमा सामाजिक सञ्जालमार्फत सम्पूर्णमा दिनुभएको प्रज्ञामय शुभकामनामा उहाँले त्यो ‘ज्ञ’ ज्ञान भएको स्पष्ट गर्नुभएको छ ।
बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सन्देशमा शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्नुभएको छ ।
प्रधानमन्त्रीले भन्नुभएको छ, “बुद्धले भन्नुभयो– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ । बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो, उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ, हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।”


