२०८१ पौष २७, शनिवार , ०६:४१:०१ बजे

Sajhamanch
'

हर्कलाल मार्गको बाँकी खण्ड अब कालोपत्रे गरिने

बुधवार, साउन ३०, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले हर्कलाल मार्गको बाँकी खण्डमा कालोपत्रे गर्ने कार्यलाई अघि बढाएको छ । गत आर्थिक वर्षमा निर्माण भई बाँकी रहेको भागमा स्तरोन्नति पछि कालोपत्रे गर्ने कार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका ईन्जिनियरसहित सडक अनुगमन गरेर यसको सुरुवात भएको छ । सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको नगरप्रमुख प्रसाईंले जानकारी दिइन् ।

नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको बताएकी हुन् ।

दक्षिणतर्फबाट आनन्द चोकसम्मको १ हजार ५६ मिटर सडक गएको आर्थिक वर्षमा नै कालोपत्रे भइसकेको छ । पूर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख ४१ हजार रुपैयाँ (भ्याटसहित)को लागतमा सो कार्य सम्पन्न गरिएको थियो ।

हर्कलाल मार्गको बाँकी खण्ड निर्माणका लागि सडक डिभिजन कार्यालय दमकले धमाधम काम भइरहेको जनाएको छ । इन्जिनियर किरण श्रेष्ठले अहिले लागत स्टिमेटको कार्य भइरहेकोले भदौको पहिलो सातासम्ममा ठेक्का लगाउने जानकारी दिए ।

हर्कलाल मार्गको अब करिव २ किलोमिटर सडक ड्रेनसहितको कालोपत्रे कार्य बाँकी छ ।

अनुगमनमा रहेका वडा नम्बर ४ का वडाअध्यक्ष राहुलकुमार शर्माले सडक स्तरोन्नति भएपछि भत्किएको सडकमा वर्षौदेखि यात्रा गरीरहेका स्थानीयलाई राहत मिल्ने बताए । उनले सडक निर्माणका क्रममा आवश्यक सहजीकरण गर्न स्थानीय उपभोक्ताहरुलाई आग्रह पनि गरेका छन् ।

सम्बन्धित खबर