२०८३ वैशाख ९ बुधवार , ०१:५८:५८ बजे

Sajhamanch
'

सडक विस्तारसँगै जलजला बन्दै नयाँ पर्यटकीय आकर्षण

बुधवार, वैशाख ९, २०८३

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् ।

समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा छ वर्षदेखि ‘गोठस्टे’ सञ्चालन गर्दै आएका धवलागिरि गाउँपालिका–२ लुलाङका फूलबहादुर विकले दैनिकजसो पर्यटक आउन थालेका बताउनु भयो । “यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकमात्रै जलजलामा आउने गरेका थिए”, उहाँले भन्नुभयो, “म्याग्दी–ढोरपाटन र पूर्वीरुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार–पाँचवटा गाडी तथा १५–२० वटा मोटरसाइकलमा पर्यटक आउन थालेका छन् ।”

बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुनमा मार्ग खुलेपछि पूर्वीरुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरू जलजलादेखि मुना हुँदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरूका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ । चार जनाको समूहमा दुईवटा मोटरसाइकलमा तीन दिनमा बुटवलबाट तकसेरा–ढोरपाटन–जलजला हुँदै पोखराको यात्रा गरेका बुटवलका सुदीप न्यौपानेले नयाँ मार्गमा साहसिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाउनु भयो ।

घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरद्याममा खुलेका आकाश । वसन्तयाममा पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । वन्यजन्तु र पन्छीहरूको आवाज । शान्त र एकान्त वातावरण पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लाको भूगोलमा फैलिएको ढोरपाटन सिकार आरक्षको आकर्षण हो ।

जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धवलागिरि गाउँपालिका–२ लमसुङबाट घुम्न गएकी बिनु पुनले बताउनु भयो । “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ”, उहाँले भन्नुभयो, “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”

जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।

गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन् । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीका सामान लगेर जानुपर्छ ।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ ।

दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो ।

धवलागिरि गाउँपालिकाको कार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले म्याग्दीको मुना हुँदै ढोरपाटन र पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि भएको बताउनु भयो ।

यस वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण र प्रवर्द्धनको कार्यक्रम आयोजना गर्ने तयारी गरेको वडा नं. ३ का अध्यक्षसमेत रहेका रोकाले बताउनु भयो ।

सम्बन्धित खबर