२०८३ वैशाख ९ बुधवार , ०२:३८:१६ बजे

Sajhamanch
'

१० वैशाखदेखि तेह्रथुममा लालीगुराँस महोत्सव

बुधवार, वैशाख ९, २०८३

तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले आगामी १० वैशाखदेखि १४ वैशाखसम्म चोलुङ पार्क क्षेत्रमा “लालीगुराँस महोत्सव” आयोजना गर्ने भएको छ ।

प्रकृति, संस्कृति र स्थानीय पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले नगरवासी मात्र होइन, आम नेपालीलाई पनि अर्गानिक जीवनशैली र वातावरणमैत्री व्यवहारतर्फ सचेत गराउने अपेक्षा गरिएको छ ।

महोत्सवको समुद्घाटन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारको प्रमुख आतिथ्यमा हुने कार्यक्रम रहेको छ ।

लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङका अनुसार महोत्सवमार्फत स्थानीय स्तरमा उत्पादन हुने रैथाने खानपान, मौलिक कला र संस्कृतिको व्यापक प्रदर्शन गरिनेछ ।

कार्यक्रम अन्तर्गत विशेष रूपमा “चोरुलुङ कविता गोष्ठी” आयोजना गरिनेछ, जसमा चर्चित कवि तथा निर्देशक उपेन्द्र सुब्बा सहित विभिन्न जिल्लाबाट आएका कवि–कवयित्रीहरूले कविता वाचन गर्नेछन्।

कार्यक्रममा सिक्किम, दार्जिलिङ, कैलाली, गोरखा, काठमाडौं, इलाम, सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम र सङ्खुवासभा लगायतका स्थानबाट साहित्यकारहरूको सहभागिता रहने जनाइएको छ ।

त्यस्तै, गुराँसको महत्व र संरक्षणसम्बन्धी विषयमा गुराँसविद् कमल मादेनले जानकारी दिनेछन् भने पर्यटन क्षेत्रको सम्भावना र यसको उपादेयताबारे कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा इन्द्रप्रसाद सापकोटा ले प्रकाश पार्ने कार्यक्रम रहेको छ ।

जलवायु परिवर्तन र मुन्धुमी ज्ञानबीचको सम्बन्धबारे नगरप्रमुख माबुहाङले आफ्नो धारणा राख्नेछन ।

महोत्सव अन्तर्गत ११ र १२ वैशाखमा “देही आर्ट” पेन्टिङ प्रदर्शनी पनि आयोजना गरिनेछ ।

साथै, चोरुलुङ पार्क, लिभिङ युमा म्युजियम तथा तीन्जुरे–मिल्के–जलजले क्षेत्र सम्म गुराँस अवलोकन कार्यक्रम समेत समावेश गरिएको नगर उपप्रमुख जमुना मगर कार्कीले जानकारी दिनुभयो । महोत्सवलाई स्थानीय पहिचानको संरक्षण, पर्यटन प्रवर्द्धन र वातावरणीय चेतना अभिवृद्धिको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।

सम्बन्धित खबर