२०८३ वैशाख ८ मङ्गलवार , ०९:४१:१२ बजे

Sajhamanch
'

यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीको उपाधि बोस्टनलाई

मङ्गलवार, वैशाख ८, २०८३

अर्जुनधारा । यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीको उपाधि बोस्टन क्रिकेट एकेडेमीले जितेको छ। बोस्टनका कप्तान आनोक राईको विस्फोटक ब्याटिङ र समग्र उत्कृष्ट प्रदर्शनको बलमा अर्जुनधाराको बोस्टनले मेचीनगरको सरस्वती क्रिकेट एकेडेमीलाई ४० रनले पराजित गर्दै उपाधि उचालेको हो।

अर्जुनधारा–९ स्थित नमूना खेल मैदानमा भएको फाइनलमा राईले ४२ बलमा ९२ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। उनको इनिङ्स नै खेलको टर्निङ प्वाइन्ट बन्यो। बोस्टनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।

जवाफमा १४९ रनको लक्ष्य पछ्याएको सरस्वती १८.१ ओभरमा १०८ रनमै समेटियो। यससँगै बोस्टनले सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका आनोक राई प्लेयर अफ दि म्याच घोषित भए। उनी प्रतियोगिताभरकै उत्कृष्ट खेलाडीका रूपमा म्यान अफ दि सिरिज समेत चुनिए। राईले प्रतियोगितामा कुल ३९७ रन बनाउँदै २०६.७७ को उच्च स्ट्राइक रेट कायम गरे। उनले प्रतियोगिताका तीन खेलमा म्यान अफ दि म्याच जित्दै आफ्नो प्रभुत्व देखाए।

बलिङतर्फ सरस्वतीका मन्दिप आचार्य प्रतियोगिताभरको १० विकेटसहित बेस्ट बलर घोषित भए भने बोस्टनका प्रत्यक्ष बास्तोला बेस्ट फिल्डर बने।

अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा भारतका २ र नेपालका ८ गरी १० टोली सहभागी थिए। विजेता बोस्टनले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता सरस्वतीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगिताको समापन समारोहका बीच अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, नगर उपप्रमुख खड्गमाया पराजुली, बोस्टन क्रिकेट एकेडेमीका सञ्चालक बिनित बास्तोला, मुख्य प्रयोजक नवनित एकेडेमीकी सञ्चालक मिना बास्तोला, प्रधानाध्यापक डा. रिता बास्तोला, नेपाल क्रिकेट संघ कोशी प्रदेशका सचिव टिकाराम पुरी, कोशी प्रदेश क्रिकेट छनोट समितिका सदस्य सुरेश गुरागाईं, अर्जुनधारा–६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोला, इन्जिनियर निरज अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रम खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देनले सञ्चालन गरेका थिए।

सम्बन्धित खबर