२०८३ वैशाख ८ मङ्गलवार , ०९:२१:४२ बजे

Sajhamanch
'

एपिएफ फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

मङ्गलवार, वैशाख ८, २०८३

भद्रपुर । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

ओखलढुंगाको पद्मा स्पोर्टस् क्लबलाई ६–० गोल अन्तरले हराउँदै एपिएफले क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो । एपिएफले क्वार्टर फाइनलमा संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफ १–० गोल अन्तर बनाएको एपिएफले दोस्रो हाफमा गोलको वर्षा गरेको थियो । पहिलो हाफको २८औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफको ४१औँ मिनेटमा घिसिङले नै अर्को गोल थपिन् । विपक्षी गोलकिपर अगाडि बढेको समयलाई सदुपयोग गर्दै उनले गोल गरेकी थिइन् । खेलको ४२औँ मिनेटमा एपिएफको लागि तेस्रो गोल रेनुका नगरकोटीको नाममा रह्यो । रश्मिकुमारी घिसिङको पासमा नगरकोटीले सुन्दर गोल गरिन् ।

खेलको ५२औँ मिनेटमा रश्मिले ह्याट्रिक पूरा गरिन् । उनले गरेको कडा प्रहारले पद्मा स्पोर्टस् क्लबकी गोलकिपर झरना डुम्राकोटीको हातमा लाग्दै बलले जाली चुम्यो । खेलको ५४औँ मिनेटमा अनिता केसीले अर्को गोल थपिन् ।

पद्मा स्पोर्टसकी डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै उनले गरेको प्रहार गोल भएको थियो । ५६औँ मिनेटमा रश्मिले अर्को गोल थपिन् । डिबक्समा अनमार्क रहेकी उनले वान टचमा गोल गरेकी थिइन् ।

पद्मा स्पोर्टसले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि स्कोर भने निकाल्न सकेन । खेलको ५४औँ मिनेटमा पद्माकी पुष्पा खड्काले डिबक्सबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले मुस्किलले बचाएकी थिइन् ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रश्मिकुमारी घिसिङ भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि बुधबार हुने क्वार्टर फाइनल खेलमा नेपाल पुलिस फुटबल क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खबर