२०८३ वैशाख ७ सोमवार , १०:३०:४३ बजे

Sajhamanch
'

उदयपुरको ब्रदरहुड एफसी सेमिफाइनलमा, झापाको जलथल ३–१ ले पराजित

सोमवार, वैशाख ७, २०८३

बिर्तामोड । उदयपुरको ब्रदरहुड फुटबल क्लब ‘एनी चौथो बुट्टाबारी गोल्ड कप’ नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा ब्रदरहुडले झापाको जलथल फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ४७औं मिनेटमा अमन लामाले गोल गर्दै ब्रदरहुडलाई अग्रता दिलाए। त्यसपछि ५८औं मिनेटमा सविन घिमिरेले थप गोल गरेपछि ब्रदरहुडले २–० को मजबुत अग्रता बनायो।

जवाफमा जलथलका ओशिन राईले ६८औं मिनेटमा गोल गर्दै खेललाई २–१ मा ल्याए। तर ७६औं मिनेटमा जलथलका गोलकिपर समिर लिम्बूले डि–एरिया बाहिर हातले बल रोकेपछि रेडकार्ड पाएर मैदान बाहिरिए। त्यसपछि जलथल १० खेलाडीमा सीमित भयो।

लिम्बू बाहिरिएपछि विकल राईले गोलपोस्ट सम्हालेका थिए। खेलको अतिरिक्त समयमा ब्रदरहुडका निरज परियारले थप एक गोल गरेपछि खेल ३–१ मा टुंगियो।

ब्रदरहुडका अमन लामा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, आरटी फुटबल क्लब मलेसियाका अध्यक्ष राजु योञ्जनलगायतले पुरस्कार वितरण गरे।

प्रतियोगिताअन्तर्गत भोलि मंगलबार फेयर फुटबल क्लब धरान र बगान युथ क्लब कचनकवलबीच प्रतिस्पर्धा हुने आयोजक बुट्टाबारी युनाइटेडका अध्यक्ष रविन राईले जानकारी दिए।

प्रतियोगिताको टाइटल स्पोन्सर खेलकुद सामग्री ब्रान्ड ‘एनी’ रहेको छ। बिर्तामोड नगरपालिकाले पहिलो पुरस्कार तथा कनकाई अस्पतालले दोस्रो पुरस्कार प्रायोजन गरेको आयोजकका संस्थापक अध्यक्ष हिमाल कन्दङ्वाले जानकारी दिए।

सम्बन्धित खबर