
काठमाडौं । मलेसियाको उत्तरी बोर्नियो राज्य सबाको एक तटीय गाउँमा हिजो बिहान भएको भीषण आगलागीमा झन्डै १ हजार घर जलेर नष्ट भएका छन्।
उक्त घटनाबाट ९ हजारभन्दा बढी बासिन्दा प्रभावित भएको मलेसियाली अधिकारीहरूले जानकारी दिएका छन्।
सान्दाकन जिल्लाका अग्नि नियन्त्रण प्रमुख जिमी लागुङले ‘बर्नामा’ समाचार एजेन्सीसँग कुरा गर्दै आगो ४ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको बताए। उनले अग्नि नियन्त्रणका लागि पर्याप्त खुल्ला जलस्रोत जुटाउन कठिनाइ भएको जानकारी दिए।
सान्दाकन नगरपालिकाका अध्यक्ष वाल्टर केन्सनका अनुसार निरीक्षणका क्रममा प्रभावित क्षेत्र बसोबासका लागि असुरक्षित पाइएपछि नगरपालिकाले उक्त घटनालाई विपद् घोषणा गरेको छ।
अग्नि नियन्त्रण प्रमुख जिमी लागुङका अनुसार आगलागी स्थानीय समयअनुसार मध्यरात १ः३२ बजे शुरु भएको थियो भने दिउँसो १२ बजे मात्र नियन्त्रणमा आएको थियो। सो घटनामा कुनैपनि मानवीय क्षतिको खबर आएको छैन।
स्थानीय प्रशासनले प्रभावित बासिन्दाहरूका लागि अस्थायी आश्रयस्थलको व्यवस्था मिलाउन शुरु गरेको जनाइएको छ।


