
काठमाडौं । चीनमा भएको हाफ–म्याराथनमा रोबोटले मानिसको विश्व कीर्तिमान तोडेको छ । बेइजिङमा भएको हाफ–म्याराथनमा मानव आकृति रोबोटले मानिसकै विश्व कीर्तिमानलाई उछिनेको हो ।
यो ऐतिहासिक सफलताले खेलकुद र कृत्रिम बौद्धिकताको सङ्गममा नयाँ युग शुरु भएको सङ्केत दिएको समाचार संस्था एपीले जनाएको छ । बेइजिङ इकोनोमिक–टेक्नोलोजिकल डेभलपमेन्ट एरिया (बेइजिङ ई–टाउन) बाट शुरु भएको २१ किलोमिटरको दौड चिनियाँ स्मार्टफोन निर्माता अनरद्वारा विकसित रोबोटले ५० मिनेट २६ सेकेन्डमा पूरा गरी पहिलो भयो ।
यो समय हाफ–म्याराथन विश्व कीर्तिमानधारी युगान्डाका धावक ज्याकोब किप्लिमोले मार्चमा बनाएको झण्डै ५७ मिनेटको भन्दा छिटो हो । गएको वर्ष पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा विजेता रोबोटले २ घण्टा ४० मिनेट ४२ सेकेन्डमा दूरी पार गरेको थियो ।
त्यसको तुलनामा यस वर्षको प्रदर्शनले रोबोट प्रविधिमा भएको तीव्र प्रगति जनाउँछ । प्रतियोगिताको आकार पनि यस पटक उल्लेखनीय रूपमा बढ्दै १०० भन्दा बढी टोलीहरूको सहभागिता रहेको थियो, जसमा पाँच विदेशी टोली समेत समावेश थिए ।
प्रतियोगितामा एउटा रोबोटले ट्राफिक प्रहरीको भूमिका निर्वाह गर्दै सहभागीलाई हातको सङ्केत र आवाजमार्फत निर्देशन दिएको दृश्यले दर्शकको ध्यान खिचेको थियो, जसले रोबोटको बहु आयामिक प्रयोगको सम्भावना झल्काएको छ ।
चीनमा प्रविधिको विकास केवल औद्योगिक प्रगतिको विषय मात्र नभई रणनीतिक प्रतिस्पर्धासँग पनि जोडिएको छ । विशेषगरी अमेरिकासँगको प्रतिस्पर्धालाई मध्यनजर गर्दै बेइजिङले आफ्नो पछिल्लो पञ्चवर्षीय योजनामा ‘विज्ञान र प्रविधिको सीमालाई लक्षित गर्ने’ प्रतिबद्धता व्यक्त गरेको छ ।
सन् २०२६ देखि २०३० सम्मको योजनाअन्तर्गत मानवाकृति रोबोटजस्ता उन्नत प्रविधिको विकासलाई प्राथमिकतामा राखिएको छ ।


