२०८३ वैशाख ८ मङ्गलवार , ०२:४२:३८ बजे

Sajhamanch
'

धौलागिरि र अन्नपूर्ण हिमालमा वसन्तयामको आरोहण शुरू : पहिलो दिन २१ जनाले आरोहण गरे

आइतवार, वैशाख ६, २०८३

काठमाडौं । धौलागिरि र अन्नपूर्ण हिमालमा यस वर्ष वसन्तयामको आरोहण शुरु भएको छ । पहिलो दिन २१ जनाले आरोहण गरेका छन् ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । त्यस्तै धौलागिरि हिमाल म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा रहेको छ ।

सेभेन समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी गरी १२ जना हिजो अन्नपूर्णको चुचुरो पुगेका हुन् । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट चार समूहका २७ जनाले अनुमति लिएका छन् ।

उनीहरूबाट एक करोड २० लाख ४९ हजार १७५ राजस्व प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताउनुभयो । अन्नपूर्ण विश्वको दशौँ अग्लो हिमाल हो । १९५० सालमा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो ।

त्यस्तै धौलागिरि हिमाल आरोहणका लागि पुगेका चार विदेशी र पाँच नेपाली नागरिकले हिजो यस वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् । धौलागिरिको चुचुरोमा पुगेर टोली तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्वकर्ता फुर ग्याल्जेन शेर्पाले बताउनुभयो ।

शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन् । पर्यटन विभागका अनुसार वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुरुषले अनुमति लिएका छन् ।

अनुमति लिएकाबाट एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताउनुभयो । छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो ।

अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो ।

सम्बन्धित खबर