२०८१ असोज ४, शुक्रवार , ०७:०१:४७ बजे

Sajhamanch
'

मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन

बुधवार, फागुन ३०, २०८०

काठमाडौँ । बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ।

मलेसियास्थित नेपाली राजदूतावासको सहयोगबाट सबै प्रक्रिया मिलाएर विमानस्थल जादा नेपाल एयरलाइन्सका कर्मचारीहरुले पीडित धामीलाई यो वा त्यो बाहानामा तीन पटकसम्म नेपाल ल्याउन नमानेको खुलेको हो।

नेपाल रिटर्नी एशोसियसनका अध्यक्ष प्रविन पौडेलका अनुसार बिरामी कुरुवा र बिरामीको टिकट किनेर विमानस्थल पुगेका बिरामी र उनको सहयोगीलाई मलेसियाको विमानस्थलबाट तीन पटक फिर्ता गरेपछि उनलाई आज हिमालयन एयरलाइन्सबाट नेपाल ल्याउन लागिएको हो।

वैदेशिक रोजगारीका लागि १९ महिना पहिले मलेसिया पुगेका बझाङ केदारस्यूँ गाउँपालिका वडा नं। ७ घर भएका ३२ वर्षीय धामी केही समय अघिदेखि मानसिक समस्याका कारण अस्वस्थ भएकाले नेपाल फर्किन लागेका थिए। तर, उनलाई बिरामी ल्याउने प्रक्रिया नपुगेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीले तीन पटक फिर्ता गरेका थिए।

‘टिकट काटेर बोर्डिङ पास भईसकेको अबस्थामा मलेसिया विमान स्थलमा खटिएका नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिरामी भएकोले नेपाल लैजान नसक्ने भनेर मेडिकल रिपोर्ट फिट टु फ्लाई चाहिने भनेर विमानस्थलबाट फर्काएका रहेछन् अर्को दिन मेडिकल रिपोर्ट फिट टू फ्लाई बनाएर विमानस्थल पुगेका उनीहरूलाई फेरि पनि थप कागज आवश्यक पर्ने भनेर फर्काएर दुःखदिइएको रहेछ’, अध्यक्ष पौडेलले भने।

त्यसैगरी तेस्रो पटक टिकट किनेर विमानस्थल पुग्दा कर्मचारीहरुले कसरी बिरामी भएको सुरुदेखिको मेडिकल रिपोर्ट आवश्यक पर्ने तत्पश्चात विशेष व्यवस्था गरेर मात्र लान सकिने जवाफ दिएर फर्काएका थिए।

सबै प्रक्रिया पुरा गरेर बोर्डिङ पास भइसकेको बिरामीलाई स्वदेश फर्काउन राजदूत डिल्लीराम पौडेल स्वयंले लिखित र मौखिकरूपमा विशेष आग्रह गर्दा समेत नेपाल वायुसेवा निगमका कर्मचारीहरुले वेवास्था गरेर अमानवीय व्यवहार गरेको अध्यक्ष पौडेलले बताए।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स भएकोले पहिलो प्राथमिकतामा राखेर अनेकौं पटक अनुरोध गर्दा मलेसिया विमानस्थलमा खटिएका कर्मचारी नै आफै चिकित्सकको जस्तो व्यवहार गरेकाले उनीहरूले अन्तिममा माग बमोजिमको कागजपत्र पुरा गर्न असम्भव जस्तै भइसकेपछि हिमालयन एयरलाइन्सका कर्मचारीसँग समन्वयमा उपलब्ध कागजपत्रको आधारमा सोही एयरलाइन्सबाट बिरामी दीपक र उनको सहयोगी काठमाडौँ आउँदै गरेको एशोसिएनका अध्यक्ष पौडेलले जानकारी दिए।

मलेसियामा रहेका नेपाल वायुसेवा निगका कर्मचारीहरु कै कारणले तीन तीन पटक मलेसियाबाट नेपाल आउन काटेको टिकटको पैसा खेर गएको बिरामीका परीवारले गुनासो गरेका छन्।

सम्बन्धित खबर