इन्डोनेशियामा दुई सय जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुखसहित चार जनालाई जेल सजाय सुनाइएको छ । उनीहरूलाई दुई वर्षको जेल सजाय तोकिनुका साथै एक अर्ब इन्डोनेशियाली रुपैयाँ जरिबाना पनि गरिएको बीबीसीले जनाएको छ ।आफी फार्मा नामको कम्पनीलाई विषालु पदार्थहरूको मात्रा अत्यधिक देखिएको खोकीको झोल औषधि बनाएको अभियोग लगाइएको थियो । तर कम्पनी पक्षका वकिलहरूले हेलचेक्र्याइँ गरेको भन्ने अभियोगलाई अस्वीकार गरेका छन् । कम्पनीले सजायविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।
सरकारी वकिलहरूले आफी फार्माका प्रमुख आरिफ प्रासेट्या हाराहापलाई नौ वर्षको र अन्य प्रतिवादीलाई ७र७ वर्षको जेल सजायको माग गर्दै मुद्दा दायर गरेका थिए । सन् २०२२ यता खोकीको औषधि खाएका कारण मिर्गौलामा गम्भीर क्षति पुग्दा धेरैजसो पाँच वर्षभन्दामुनिको उमेरका दुई सय जना इन्डोनेशियाली बालबालिकाहरूको ज्यान गएको छ । द गाम्बिया र उज्वेकिस्तानमा पनि त्यस्तै कारणले एक सय जनाभन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले भारत र इन्डोनेशियामा निर्मित खोकीका विभिन्न ६ प्रकारका औषधिका सम्बन्धमा चेतावनी जारी गरेको छ ।