झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत बचत तथा ऋण ब्यवसाय उपसमितिले चालू आर्थिक वर्षको कारोबारको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ ।
संस्थाले आफ्नो कार्यक्षेत्रका ६ स्थानमा क्षेत्रीयस्तरको भेला आयोजना गरी समीक्षा बैठक गरेको हो । बैठकमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभागीय समिति, सम्बन्धित क्षेत्रका कार्यालयगत उपसमिति तथा विभागीय कर्मचारीहरु र कार्यालय प्रमुखहरुलाई सहभागी गराइएको थियो ।
सोही सिलशिलामा उपसमितिले संस्थाको बिर्ता–अर्जुन क्षेत्रमा माघ २३ गते सोमबार अन्तिम समीक्षा बैठक सम्पन्न गरेको छ । बचत तथा ऋण ब्यवसाय उपसमितिका संयोजक ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा सञ्चालक समिति सदस्य विकासप्रसाद उप्रेतीले यसको आवश्यकता र औचित्य बारे प्रकाश पारेका थिए ।
समीक्षा बैठकमा कार्यालय प्रमुखहरुले कार्यालयगत उपसमितिको समन्वयमा बनाएको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाबारे मसिनो गरी छलफल गरिएको थियो । चालू आवका लागि निर्धारित लक्ष्य पूरा भए वा नभएको विषयमा कर्जा विभाग प्रमुख सुवोध बुढाथोकीले तथ्याङ्क प्रस्तुत गरेका थिए ।
यस्तै डिजिटल कारोबारको अवस्थाका बारेमा विभागीय प्रमुख आविस्कार बस्नेतले तथ्याङ्क सुनाउँदै विगत तीन महिनादेखि नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार एनएमसीबाट भएको जानकारी गराए । फोन पे, क्युआर मर्चेन्ट, एटीएम, ईसेवा, खल्तीजस्ता माध्यमबाट कारोबार बढिरहेको उनको भनाई छ ।
समीक्षा बैठकमा आफ्ना धारणा राख्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले विश्वबजारमा आएको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएकाले आत्तिन नहुने बरु सम्हालिएर सुरक्षित कारोबार गर्नुपर्ने औंल्याए । यस्तो आर्थिक मन्दी सन् १९८० र २००८ मा विश्वले झेलेको थियो, नेपालमा उत्ति प्रभाव परेको थिएन तर सन् २०२२–२३ को मन्दीले गाँजेको वर्तमान अवस्थामा हामीले धैर्यता कायम राख्नुपर्ने उनको भनाई थियो ।
हिजो ५ प्रतिशतमा झरेको एनएमसीको तरलता आज १२ प्रतिशत अर्थात् १ अर्ब हाराहारी भएकाले संस्था कम्फोर्ट जोनमा रहेको विश्वास दिलाउँदै अध्यक्ष उप्रेतीले सहकारीमा राखेको निक्षेप बैंकमा लैजानेहरु पुनः एनएमसीमा ल्याएर राख्न थालेको बताए ।
विर्ता–अर्जुन क्षेत्रीय समितिका सदस्य सचिव प्रकाश सुवेदीले सञ्चालन गरेको सो समीक्षा बैठकमा उनले सो क्षेत्रको वर्तमान अवस्था तथा भावी योजनाहरुका बारेमा जानकारी गराएका थिए ।
समीक्षा बैठकमा सञ्चालक समितिका सदस्य डम्बरबहादुर गिरी, कार्यालयगत उपसमितिका संयोजकहरु तोमप्रसाद ओली र कुन्तादेवी खनाल, बचत तथा ऋण ब्यवसाय प्रमुख मनिष कोइराला, कार्यालय प्रमुखहरु हरिमाया ओझा, कुस्पना खरेल र निरज कार्कीले संस्थाको प्रवद्र्धनका लागि खेल्नुपर्ने भूमिकाका बारेमा आफ्ना धारणा राखेका थिए ।