२०८३ जेठ ४ सोमवार , ०६:१६:२२ बजे

Sajhamanch
'

सिम्रिक साकोसको स्तुत्य कार्य : सिटी सफारी सेवा सञ्चालनका लागि विद्यालयलाई ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण

सोमवार, जेठ ४, २०८३

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले बिर्तामोड वडा नं. १० मा अवस्थित श्री चमरधाप आधारभूत विद्यालयका बालबालिकाको यातायात साधन सिटी सफारी सेवा सञ्चालनका लागि ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराईसहित संस्थाको टोलीले विद्यालयमा नै गएर उक्त रकम सहयोग गरेको हो ।

शिक्षा सबै बालबालिकाको आधारभूत अधिकार हो भन्ने विश्वासका साथ उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहज आवतजावत तथा नियमित पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयको स्वामित्वमा रहेको सिटी सफारी सेवा निरन्तर सञ्चालनका लागि संस्थाको तर्फबाट ६० हजार रुपैयाँ सहयोग प्रदान गरिएको अध्यक्ष भट्टराईले बताउनु भएको छ ।

विद्यालयकै एक शिक्षिकाले मासिक रुपमा शुल्क लिएर उक्त सिटी सफारी चलाउने र सो विद्यालयमा अध्ययन गर्न आउने बालबालिका ल्याउने पुर्याउन सजिलो होस् भनेर एक वर्षको लागि उक्त रकम सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाई छ ।

आर्थिक अभावका कारण सञ्चालनमा कठिनाइ भइरहेको उक्त सिटी सफारी सेवा निरन्तर गरिएमा अधिकांश विपन्न परिवारका विद्यार्थीहरुको शिक्षामा प्रत्यक्ष रूपमा सहयोग पुग्ने संस्थाको विश्वास छ ।

सिम्रिक साकोसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको जनाएको छ । शिक्षा, पहुँच र अवसरको सुनिश्चितताका लागि संस्थाको सहकार्य निरन्तर रहने पनि सिम्रिकको प्रतिवद्धता छ ।