
झापा । मदन आश्रित स्मृति दिवसको अवसरमा आज बिर्तामोडमा सुकुम्बासी समस्या र जनताको बहुदलीय जनवाद विषयक अन्तरसम्वाद कार्यक्रम गरिएको छ ।
वर्तमान सरकारले भूमिहीन सुकुम्बासीहरुको छाप्रोमा डोजर चलाइरहेको परिदृश्यमा मदन भण्डारी फाउण्डेसन झापाले उक्त विषयमा अन्तरसम्वाद गरेको हो ।
फाउण्डेसनका झापा अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
पार्टीका निर्वाचन आयोगका सदस्य वरिष्ठ अधिवक्ता टंक उप्रेतीले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा उहाँले पार्टीको मार्गदर्शक सिद्धान्त मदन भण्डारीद्वारा प्रतिपादित जनताको वहुदलीय जनवादमा उल्लेखित भूमिहीन सुकुम्बासीहरुको सन्दर्भ केलाउँदै वर्तमान सरकारको कदम अमिल्दो भएको चर्चा गर्नुभयो ।
अधिवक्ता उप्रेतीको कार्यपत्र माथि नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी र अधिवक्ता गजेन्द्र आचार्यले टिप्पणी गर्नुभएको थियो । उहाँहरुले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको आवासको अधिकारजस्तो मौलिक हकमाथि वर्तमान सरकारले डोजर चलाएको टिप्पणी गर्नुभयो ।
फाउण्डेसनका सचिव शिव ढुंगेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई कोषाध्यक्ष गणेश पोखरेलले शाब्दिक स्वागत गर्नुभएको थियो ।


