
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्रिको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ । पार्टी र जनताबीच दुरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुने उहाँको भनाइ छ ।
३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले सो धारणा राख्नु भएको हो । ‘जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘राजनीति जनसेवा र समाज रुपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले क्रियाशील हुनैपर्दछ ।’
उहाँले मदन–आश्रितको स्मृतिको अवसरमा आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न प्रेरणा लिनुपर्ने बताउनु भयो ।
एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कार्यकर्ताहरु जनताको बीचमा पुग्नुपर्छ, जनताको दुस्ख–सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्छ ।’
‘हाम्रा क्रियाकलापहरु युवा पुस्तामा केन्द्रित हुनुपर्छ,’
स्मृति दिवसलाई केबल औपचारिक कार्यक्रमका रुपमा नभई, वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रुपमा लिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
साथै जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसाथ गर्दैै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना भएको बताउनु भयो । शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रुपमा जोड्न सकियो भने नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ ढोका खोल्ने उनको विश्वास छ । ‘त्यसैले अब हाम्रा क्रियाकलापहरु युवा पुस्तामा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले मदन–आश्रितले देखेको समतामूलक, समृछ र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी रहेको बताउनु भयो। उनीहरुको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतारेमा मात्र सच्चा श्रद्धाञ्जली हुने धारणा समेत राख्नुभयो ।


