
काठमाडौं । यस वर्षको मनसुन सामान्यभन्दा करिब एक हप्ता अगावै सुरु भएको छ । नेपाल भित्रिन भने अझै केही हप्ता लाग्ने अनुमान छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले शनिबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार यस वर्षको मनसुन १६ मेदेखि दक्षिण–पूर्वी अरब सागर, दक्षिण–पश्चिम र दक्षिण–पूर्वी बङ्गालको खाडीका विभिन्न भागहरूमा फैलिएको छ । यसका साथै मनसुन निकोबार द्वीप समूह र श्री विजयपुरम सहित अन्डमान द्वीप समूहका केही हिस्साहरूमा समेत अगाडि बढिसकेको छ ।
मौसमविदहरूका अनुसार आगामी ३–४ दिनभित्र मनसुन दक्षिण–पूर्वी अरब सागर, बङ्गालको खाडी र अन्डमान क्षेत्रका बाँकी भागहरूमा थप विस्तार हुनका लागि परिस्थिति अनुकूल बनेको छ ।
भारतको मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी २६ मेसम्ममा केरल राज्यमा मनसुन आगमन हुने सम्भावना छ । भारतमा सबैभन्दा पहिले केरलमा मनसुन भित्रिन्छ र विस्तारै देशभर फैलिन्छ । त्यही क्रममा पूर्वी भेगबाट नेपालमा पनि प्रवेश गर्छ ।
सामान्यतया भारतमा मनसुन भित्रिएको हप्ता–दश दिनभित्र नेपालमा मनसुन आइपुग्छ । तर सधैं यस्तै अवस्था हुन्छ भन्न नसकिने मौसमविदहरु बताउँछन् ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन भित्रिएको घोषणा गर्न विभिन्न पारामिटरहरु हेर्ने गरिन्छ । ‘सामान्यरुपमा बुझ्दा मनसुन भित्रिन अहिले नेपालमा कायम पश्चिमी वायुको प्रभावलाई पूर्वी वायुले विस्थापित गर्नुपर्छ,’ वरिष्ठ मौसमविद पौडेल भन्छन्, ‘त्यसबाहेक एन्टी साइक्लोन (तिब्बतीयन हाई) अलिकति माथितिर (उत्तरतिर) सर्नुपर्छ, नेपालको उपल्लो वायुमण्डलको अवस्था कस्तो छ, यस्ता थुप्रै प्राविधिक कुराहरु हेरेर मनसुन भित्रिएको हो कि होइन भनेर निष्कर्ष निकालिन्छ ।’
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ ।
यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुने गरेको छ । यस वर्ष नेपालमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आकलन गरिएको छ । तर कुनै कुनै ठाउँमा भारी वर्षा पनि हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदहरु बताउँछन् ।
भारतमा विभिन्न स्थानमा भारी वर्षा, हुरी र गर्मीको चेतावनी
विभागले भारतका केही ठाउँमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने र केही ठाउँमा तातो लहरको सम्भावना रहेको जनाएको छ ।
आगामी ३–४ दिनमा अन्डमान र निकोबार द्वीप समूह, पश्चिम बङ्गाल, सिक्किम, तमिलनाडु, पुडुचेरी, कराइकल, केरल र दक्षिण कर्नाटकका केही स्थानहरूमा छिटपुटदेखि भारी र धेरै भारी वर्षाको सम्भावना छ ।
उत्तर–पश्चिमी भारत र मध्य भारतका मैदानी इलाकाहरूमा भने यस हप्ताका धेरैजसो दिनहरूमा तातो हावाको लहर (लु) को स्थिति कायम रहने चेतावनी दिइएको छ ।
यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र बढी गर्मीको पूर्वानुमान छ । यद्यपि कुनै कुनै ठाउँमा भने भारी वर्षा हुने सम्भावना छ ।
दिल्लीमा मे २२ सम्म गर्मी बढ्ने सम्भावना
दिल्लीमा यस हप्ता मे २२ सम्म अत्यधिक गर्मी हुने सम्भावना छ । बितेको दिन यहाँको अधिकतम तापमान ४०.८ डिग्री र न्यूनतम तापमान २४.८ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । आज मे १७ (आइतबार) दिल्लीमा आंशिक रूपमा बादल लागेको छ । दिउँसो वा साँझपख मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । यस क्रममा ४० किमी प्रतिघण्टासम्म हावा बहने अनुमानसमेत छ ।
आगामी ३ दिनमापछि भने तापक्रममा खासै ठूलो परिवर्तन नहुने पूर्वानुमान छ ।
उत्तर–पूर्वी र दक्षिण भारतमा भारी वर्षाको अलर्ट
मनसुनको प्रभावले उत्तर–पूर्वी भारतका नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, अरुणाचल प्रदेश, असम र मेघालयका विभिन्न स्थानमा आज मे १७ का दिन र पुन: मे २० देखि २२ को बीचमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । यसका साथै मेघगर्जन र चट्याङसहित ४०–५० किमी प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना पनि छ ।
दक्षिण भारतमा मे २० सम्म केरल, माहे, लक्षद्वीप, रायलसीमा, तटीय आन्ध्र प्रदेश, यनम, दक्षिणी आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराइकलमा पनि भारी वर्षाको सम्भावना छ । यस अवधिमा ५०–६० किमी प्रतिघण्टादेखि लिएर ७० किमी प्रतिघण्टाको रफ्तारमा हावाहुरी चल्न सक्ने चेतावनी जारी गरिएको छ ।
पूर्वी र उत्तर–पश्चिम भारतमा वर्षाको चेतावनी
पूर्वी भारतमा मे २२ सम्म अण्डमान निकोबार द्वीप समूह, उप–हिमालयी पश्चिम बङ्गाल, सिक्किम, गङ्गाको मैदानी क्षेत्र (पश्चिम बङ्गाल), बिहार, झारखण्ड र ओडिसाममा केही स्थानमा हल्का तथा केही स्थानमा निकै भारी वर्षा हुन सक्ने अनुमान छ । यहाँ पनि ५० देखि ७० किमी प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने चेतावनी दिइएको छ ।
उत्तर–पश्चिम भारतको जम्मु–कश्मीर र उत्तराखण्डमा मे २० सम्म मेघगर्जन, चट्याङ र तीव्र हावाहुरी (४०–५० किमी प्रतिघण्टा) सहित वर्षाको सम्भावना छ । मध्य भारतको पूर्वी मध्य प्रदेश, छत्तिसगढ, मध्य महाराष्ट्र र मराठवाडामा मे २० सम्म हल्का वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
राजस्थान र उत्तरप्रदेशमा लुको चेतावनी
पश्चिमी राजस्थानमा मे १७ देखि २२ को बीचमा लू चल्ने सम्भावना छ । मे २१ र २२ मा केही इलाकामा लूको प्रकोप अत्यधिक रहन सक्ने चेतावनी दिइएको छ ।
नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशमा मे १७ देखि २२ को बीचमा लू चल्ने र मे १९ देखि २२ को बीचमा स्थिति झन् भयानक हुन सक्ने आशंका छ ।
मध्यप्रदेशको पश्चिमी क्षेत्रमा मे १७ देखि २० सम्म तथा पूर्वी मध्य प्रदेश र विदर्भमा मे १७ देखि २२ सम्म लूको प्रकोप रहनेछ ।
पञ्जाब, हरियाणा, चण्डिगढ र दिल्लीमा मे १८ देखि २२ को बीचमा तथा छत्तिसगढमा मे २० देखि २२ को बीचमा अत्यधिक उकुसमुकुस र कडा गर्मी हुने प्रवल सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।


