२०८३ जेठ ४ सोमवार , ०१:०२:३४ बजे

Sajhamanch
'

शिवसताक्षीमा दिव्यदेश प्रतिष्ठा महोत्सवको आय–व्यय विवरण सार्वजनिक

सोमवार, जेठ ४, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित श्री लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमले दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ।

गत वैशाख ११ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण महोत्सवको आय–व्यय विवरण मन्दिर परिसरमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

महोत्सवमा कुल ३ करोड ३२ लाख ३८ हजार ९५६ रुपैयाँ बराबरको आय भएको आश्रमका सचिव हरिनारायण बाँस्कोटाले बनाउनु भयो । उहाँका अनुसार हाल संस्थाको बैंक मौज्दातमा ७० लाख रुपैयाँ तथा नगद मौज्दातमा ४९ हजार ८२६ रुपैयाँ रहेको छ।

जसमा कोशी प्रदेश सरकारबाट ९ लाख रुपैयाँ, शिवसताक्षी नगरपालिकाबाट २ लाख रुपैयाँ तथा दिनेश मित्तलबाट ५ लाख ५५ हजार रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ।

आय–व्यय सार्वजनिक कार्यक्रममा सचिव बाँस्कोटाले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, देश तथा विदेशबाट सहभागी गुरुजन, विद्वान, भक्तजन, विभिन्न संघ–संस्था तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले नेपाल सरकार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, नेपाल रेडक्रस सोसाइटी, स्थानीय वडाहरू, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

त्यस्तै, आश्रमका वरिष्ठ उपााध्यक्ष हरिप्रसाद तिम्सिनाले दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण महोत्सवमार्फत लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमलाई विश्वसामु परिचित गराउन सफल भएको बताउनुभयो। उहाँले यो उपलब्धि केवल शिवसताक्षी नगरको मात्र नभई सम्पूर्ण नेपालकै गौरवको विषय बनेको उल्लेख गर्नुभयो।

“यो सानो उपलब्धि होइन, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा यस महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याएको छ,” उहाँले भन्नुभयो।

यसैबीच, लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमको मूल समितिले दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण महोत्सव सम्पन्न गर्न गठन गरिएको मूल आयोजक समिति विघटन गरिएको जानकारी दिएको छ।