२०८३ जेठ ४ सोमवार , ११:५५:१५ बजे

Sajhamanch
'

रानी विराटनगर किमाथाङ्का सडकमा ब्रेक थ्रु, किमाथाङ्कामा पुग्यो ट्र्याक्टर

सोमवार, जेठ ४, २०८३

विराटनगर । भारत र चीन जोड्ने सबैभन्दा छोटो सडकका रूपमा रहेको रानी–विराटनगर–इटहरी–किमाथाङ्का सडक चीनसँग जोडिएको छ ।

नेपालतर्फको सिमाना किमाथांका पुग्न कठिन धोङ्गोक्पा पुस्यिला खण्डको भिर बाटो ब्रेक थ्रु भएपछि किमाथाङ्का सडक सञ्जालमा जोडिएको छ । भिरमा बाटो बनेपछि किमाथाङ्कामा खाद्यान्न बोकेका तीन वटा ट्र्याक्टर पुगेका छन् ।

तीन वटा ट्र्याक्टर भोट खोला गाउँपालिकाको किमाथाङ्का पुगेसँगै सडक सञ्जालबाट किमाथाङ्का जोडिएको भोट खोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदार लामाले बताउनु भयो । भारतीय सिमाना विराटनगरको रानीबाट किमाथाङ्काको दूरी ३५७ किलोमिटर रहेको छ ।

यो सडक निर्माणको काम विभिन्न ठेकेदार कम्पनीले गर्दै आएका थिए । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको खाँदबारी–किमाथाङ्का सडक निर्माणको काम आर्थिक वर्ष २०६५–६६ मा थालिएको हो । रानीदेखि संखुवासभाको सदरमुकाम खाँदबारीसम्म यसअघि नै सडक कालोपत्रे भएको थियो । खाँदारीबाट किमाथाङ्का सम्मको सडक निर्माणको काम भने भइरहेको छ ।

अध्यक्ष लामाले सबै भन्दा कठिन धोङ्गोक्पा पुस्यिला खण्डको भिरको ब्रेक थ्रुको काम भने नेपाली सेनाले गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली सेनाले भिरमा ब्रेक थ्रुको काम गरेको छ । म निर्माण कम्पनी र सेनालाई धन्यवाद दिन चाहन्छु ।’

धोगोमखोला हटियादेखि किमाथाङ्का सडकमा १० वटा पक्की पुल र धोङ्गोक्पा देखि किमाथाङ्का सडकको स्तरोउन्नतिका लागि करिब ४ अरब ७२ करोड रुपैयाँ श्रोत सुनिश्चित भएको छ । खाँदबारीदेखि किमाथाङ्काबीचको १५७ किलोमिटर सडकको स्तरोउन्नति भए त्रिदेशीय व्यापारमा सहजता हुने अपेक्षा राखिएको छ ।