
झापा । चीनले वार्षिक कम्तीमा १७ अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षेनि अमेरिकाबाट अर्बौँको कृषि उत्पादनहरू किन्ने प्रतिबद्धता जनाएको ह्वाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार चीनले सन् २०२६, २०२७ र २०२८ मा कम्तीमा १७ अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि गएको अक्टोबरमा दक्षिण कोरियामा ट्रम्प र सीबीच भएको शिखर सम्मेलनका क्रममा चीनले कम्तीमा ८ करोड ७० लाख मेट्रिक टन अमेरिकी भटमास खरिद गर्ने प्रतिबद्धता गरेको थियो ।
यसैबीच ट्रम्प र सीले दुई नयाँ निकायहरू – अमेरिका–चीन व्यापार बोर्ड र अमेरिका–चीन लगानी बोर्ड – स्थापना गर्न पनि सहमति जनाएका ह्वाइट हाउसलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
गत वर्ष लगाइएको ‘टिट फर ट्याट’ अर्थात् जस्तालाई त्यस्तै रणनीतिको भन्सार शुल्कले व्यापारमा तीव्र कमी ल्याएपछि चीनमा अमेरिकी कृषि निर्यातमा उल्लेखनीय गिरावट आएको छ । सन् २०२५ मा वार्षिक रूपमा ६५ दशमलव ७ प्रतिशतले घटेर ८ अर्ब ४० करोड डलर पुगेको अमेरिकी कृषि विभागको तथ्याङ्कले देखाएको छ ।
ट्रम्पको पहिलो कार्यकालदेखि नै चीनले अमेरिकी कृषि उत्पादनहरूमा निर्भरता नाटकीय रूपमा घटाएको छ । ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा एक वर्षअघि सन् २०२४ मा चीनले अमेरिकाबाट झन्डै २० प्रतिशत भटमास खरिद गरेको थियो । सन् २०१६ मा ४१ प्रतिशत थियो ।


