२०८३ वैशाख ३१ बिहिवार , ०७:०६:५० बजे

Sajhamanch
'

अभिमुखीकरण तथा नेतृत्व विकास तालिम पोखरामा सम्पन्न

बिहिवार, वैशाख ३१, २०८३

झापा । काठमाडौंस्थित लिडरसिप एकेडेमी नेपालद्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा नेतृत्व विकास तालिम कार्यक्रम पोखरामा हालै सम्पन्न भएको छ ।

देशका विभिन्न जिल्लामा सञ्चालित गैरसरकारी संस्थाबाट गएका ३५ जना प्रतिनिधिहरूको सहभागितामा तालिम कार्यक्रम सञ्चालन गरिएको हो ।

सामाजिक नेतृत्व, समुदायसँगको सहकार्य, संस्थागत उत्तरदायित्व तथा युवाको भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, सामाजिक अभियान सञ्चालन, संस्थागत क्षमता अभिवृद्धि तथा समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने विषयमा सहजीकरण गरिएको थियो ।

सहभागीहरूले विभिन्न जिल्लामा भइरहेका सामाजिक अभ्यास, चुनौती तथा सम्भावनाबारे अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख सञ्चालन अधिकृत जयेन्द्र रिमालले समाज परिवर्तनका लागि व्यवहारिक नेतृत्व आवश्यक रहेको बताउनु भयो । उहाँले समुदायको आवश्यकता बुझेर उत्तरदायी ढंगले काम गर्नुपर्ने विषयलाई उठान गर्दै प्रशिक्षण दिनुभएको थियो।

वरिष्ठ कार्यक्रम प्रबन्धक प्रभाकर प्रधानले गैरसरकारी संस्थाहरूले पारदर्शिता र दीर्घकालीन प्रभावमा केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रम प्रबन्धक प्रज्ञा घिमिरेले नेतृत्व विकास निरन्तर सिकाइ र आत्मविश्वासको प्रक्रिया भएको उल्लेख गर्नुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका मन्त्री गोबिन्दबहादुर नेपालीले गैरसरकारी संस्थाहरू समाज रूपान्तरणका महत्वपूर्ण साझेदार भएको बताउँदै युवालाई नेतृत्व विकाससँग जोड्ने कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी थारु सामुदायिक मञ्चकी व्यवस्थापक आराधाना चौधरीले तालिम फलदायी र प्रेरणादायी भएको बताउँदै खुशी व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले संस्थागत अनुभव आदानप्रदान र नेतृत्व विकासमा सकारात्मक सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई आफ्ना समुदायमा प्रयोग गर्दै सामाजिक रूपान्तरणमा योगदान दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

लिडरसिप एकेडेमी नेपाल लामो समयदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था हो ।

सम्बन्धित खबर