२०८३ वैशाख १७ बिहिवार , ०३:५०:२७ बजे

Sajhamanch
'

कचनकवलमा स्कुल बस पल्टिँदा एक दर्जन विद्यार्थी घाइते, चालक फरार

बिहिवार, वैशाख १७, २०८३

झापा । झापाको कचनकवल गाउँपालिका–३ दलकीमा स्कुल बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्।

आज बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बसले घरबाट सडकमा निस्किएको प्र-१-०१-०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार करिब १८–२० जना विद्यार्थीमध्ये एक दर्जन विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते विद्यार्थीहरूमध्ये अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुश्बु श्रेष्ठ, करण राजवंशी, प्रतीक्षा राजवंशी, वर्तिका राजवंशी, सुमन राजवंशी, सृजना राजवंशी लगायतका रहेका छन्।

अधिकांश विद्यार्थीलाई सामान्य चोटपटक लागेको र अवस्था खतरा बाहिर रहेको बताइएको छ। उनीहरूलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएको छ। एक बालकको निधारमा चोट लागेको छ भने दुई जना विद्यार्थीलाई अभिभावकले अन्यत्र उपचारका लागि लगेका छन्।

दुर्घटनामा परी मोटरसाइकल चालक कचनकवल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक फरार भएका छन् भने उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। दुवै सवारीसाधन प्रहरी चौकी पथरियाको नियन्त्रणमा राखिएको छ।

सम्बन्धित खबर