२०८३ वैशाख १७ बिहिवार , ०३:२५:५१ बजे

Sajhamanch
'

सवारी दुर्घटनाको भयावह अवस्थाः दैनिक ७ जनाको मृत्यु

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको ‘सवारी दुर्घटना अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ ले नेपालमा औसतमा दैनिक ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको देखाएको छ ।

प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रतिदिन औसत ५४ वटा सवारी दुर्घटना हुने गरेका छन् । जसमा दैनिक ७ जनाको मृत्यु हुने र ठुलो संख्यामा नागरिकहरू घाइते तथा अंगभंग हुने गरेका हुन् ।

मन्त्रालयले पूर्व सचिव धनबहादुर तामाङको संयोजकत्वमा गठन गरेको कार्यदलले उक्त प्रतिवेदन तयार गरेको हो ।

प्रतिवेदनका अनुसार कुल दुर्घटनामध्ये ८८.३५ प्रतिशत दुर्घटनाको मुख्य कारण सवारी चालकको लापरवाही र व्यवहार देखिएको छ । मानवीय कारण अन्तर्गत चालकको व्यावसायिक अनुशासनको अभाव, अनिन्द्रा, थकान, तीव्र गति, ओभरटेक र ट्राफिक नियमको उल्लंघन प्रमुख रहेका छन् ।

चालकपछि दुर्घटनाको दोस्रो कारण यात्रुको लापरवाही (४.२० प्रतिशत) र तेस्रो कारण सडकको भौतिक अवस्था (४.१२ प्रतिशत) देखिएको छ । सवारी साधनको यान्त्रिक गडबडीका कारण हुने दुर्घटना भने २.५९ प्रतिशत मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन गरिएका ५ घटनाको फेहरिस्त कार्यदलले देशका विभिन्न स्थानमा भएका ५ वटा ठुला दुर्घटनाको स्थलगत अध्ययन गरी ती घटना हुनुका पछाडि विशिष्ट कारणहरू पहिल्याएको छ ।

दाङको भालुवाङमा भएको बस दुर्घटना चालकले तीव्र गतिमा सवारी चलाउँदा र ट्राफिक संकेतलाई वेवास्ता गर्दा भएको निष्कर्ष निकालिएको छ । दाङ, भालुवाङ बस दुर्घटना २०८० पुस २७ गते राती करिब १० बजे भालुवाङको राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, धादिङको गजुरीमा २०८० फागुन २३ गते बिहान ४ः४० बजे त्रिशूली नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको थियो । गजुरीमा भएको यो बस दुर्घटनामा चालकको थकान, निन्द्रा र विपरीत दिशाबाट आएको सवारीको प्रकाश ९हाइ बीम० ले आँखामा पारेको प्रभाव मुख्य कारण देखिएको छ ।

पाल्पाको तिनाउमा भएको जिप दुर्घटनामा भने क्षमताभन्दा दोब्बर यात्रु बोक्नु (१३ सिटमा २७ जना) र कच्ची सडकमा ओभरलोड हुनुलाई मुख्य कारण मानिएको छ । २०८० फागुन १ गते तिनाउ–६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

१३ जनाको क्षमता भएको जिपमा चालकसहित २७ जना बोकेर कच्ची र उकालो सडकमा गुडाउँदा ओभरलोडका कारण जिप पछाडि सरेर दुर्घटना भएको देखिएको छ ।

कपिलवस्तु, सुर्ईखोला बस दुर्घटना (२०८० फागुन ३ गते) शिवराज नगरपालिका–१ मा बस सडकबाट ४०० फिट तल खस्दा १० जनाको ज्यान गएको थियो । यो दुर्घटना सवारीको अचानक यान्त्रिक गडबडी र सडकमा सुरक्षा संरचना (बेरियर) नहुँदा भएको पाइएको छ ।

२०८० पुस २८ गते चन्द्रागिरि–४ सेतोपहरामा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । चन्द्रागिरि कार दुर्घटना कच्ची र भिरालो सडकमा चालकको अनुभवको कमी र सडकमा सुरक्षा संकेत नहुँदा यो दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

के छन् सुधारका उपाय ?

प्रतिवेदनले सडक दुर्घटना न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन रूपमा चाल्नुपर्ने कदमहरूका बारेमा सरकारलाई विस्तृत सुझाव दिएको छ ।

खासगरी लामो दूरीका सवारी साधनमा दुईजना चालकको अनिवार्य व्यवस्था, ठूला सवारीमा ’प्रोक्सिमिटी सेन्सर’ र सिसी क्यामेरा जडान गर्नुपर्ने सुझाव दिइएको छ ।

यस्तै, चालकहरूको कार्यघण्टा सुनिश्चित गर्ने, उनीहरूको सेवा सुविधा र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने तथा दुर्घटनाका घाइतेहरूलाई तत्काल उद्धार गर्न राजमार्गका रणनीतिक स्थानहरूमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ स्थापना गर्नुपर्नेमा जोड दिइएको छ ।

सडक निर्माण गर्दा अनिवार्य रूपमा सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्नुपर्ने र दुर्घटना भएपछि उद्धारमा सहयोग गर्ने,नागरिकलाई कानुनी संरक्षण दिने ‘असल सहयोगी’ सम्बन्धी कानून निर्माण गर्नुपर्ने प्रतिवेदनको मुख्य माग छ ।

मन्त्रालयले यो प्रतिवेदनका सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

बिहिवार, वैशाख १७, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर