२०८३ वैशाख १७ बिहिवार , ०४:२२:०० बजे

Sajhamanch
'

मध्यपूर्व तनाव चर्किँदा तेलदेखि कूटनीतिसम्म असर

बिहिवार, वैशाख १७, २०८३

झापा । मध्यपूर्वमा चलिरहेको युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि एकसाथ गहिरो प्रभाव पारिरहेको छ । कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ भने अमेरिका, युरोप र रुसबीचको सम्बन्ध पनि थप जटिल बन्दै गएको छ ।

यसबीच सैन्य गतिविधि, कूटनीतिक वार्ता र आर्थिक असरहरू समानान्तर रूपमा तीव्र भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

मध्यपूर्व युद्धको सबैभन्दा धेरै असर ऊर्जा बजारमा देखिएको छ । कच्चा तेलको मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेर १२६ दशमलव ४१ अमेरिकी डलरसम्म पुगेको छ । इरानमाथि अमेरिकी नाकाबन्दी कडा बन्दै जाँदा आपूर्ति असन्तुलनको डरले बजार उकालो लागेको हो ।

यसैबीच अमेरिका र जर्मनीबीचको सम्बन्धमा तनाव देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीले इरानविरुद्धको युद्धमा साथ नदिएपछि त्यहाँ तैनाथ ३५ हजारदेखि ५० हजार अमेरिकी सैनिक घटाउने विचार गरिरहेको बताउनुभएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले कूटनीतिक समाधानमा जोड दिँदै युद्धमा सहभागी हुन अस्वीकार गरेपछि यो विवाद चर्किएको हो ।

अर्कोतफ रुसले युद्ध विस्तारप्रति गम्भीर चेतावनी दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पसँगको टेलिफोन वार्तामा इरानमाथि पुनः सैन्य आक्रमण नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले युद्धविराम विस्तारको निर्णयलाई सकारात्मक भने पनि सैन्य कारबाही पुनः शुरू भए ‘गम्भीर र हानिकारक परिणाम’ आउने चेतावनी दिनुभयो । ट्रम्पले यो वार्तालाई सकारात्मक बताउँदै इरानसँगको द्वन्द्व अन्त्य गर्न रुसको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

युद्धको आर्थिक लागत पनि बढ्दै गएको छ । अमेरिकी रक्षामन्त्री पीट हेग्सेथका अनुसार झन्डै ६० दिनको द्वन्द्वमा अहिलेसम्म २५ अर्ब डलर खर्च भएको अनुमान छ ।

रणनीतिक रूपमा अमेरिका लामो समयसम्म इरानमाथि दबाव कायम राख्ने तयारीमा देखिएको छ । रिपोर्टहरूका अनुसार ट्रम्प प्रशासनले इरानलाई आणविक कार्यक्रम त्याग्न बाध्य पार्न बन्दरगाहहरूमा दीर्घकालीन नाकाबन्दीको योजना बनाइरहेको छ । साथै इरानलाई लामो समयसम्म युरेनियम संवर्धन रोक्न र कडा प्रतिबन्ध स्वीकार गर्न दबाव दिने रणनीति अपनाइएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत पनि कडा सन्देश दिनुभएको छ । उहाँले इरानले आणविक सम्झौतामा सहमत हुन नसकेको भन्दै चाँडै निर्णय लिनुपर्ने चेतावनी दिनुभयो ।

युद्धको असर अन्य क्षेत्रहरूमा पनि देखिएको छ । क्यानाडामा आयोजित फिफा काङ्ग्रेसमा सहभागी हुन गएका इरानी फुटबल अधिकारीहरूले टोरन्टो विमानस्थलमा भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कार्यक्रमअघि नै देश छोडेका छन् ।

ऊर्जा कम्पनीहरूले भने बढ्दो मूल्यबाट लाभ लिएका छन् । फ्रान्सेली कम्पनी टोटल एनर्जीले पहिलो त्रैमासिकमा ५१ प्रतिशतले नाफा बढ्दै ५ अर्ब ८० करोड डलर पुगेको जनाएको छ ।

ब्राजिल र लिबियामा उत्पादन वृद्धि तथा उच्च मूल्यबाट कम्पनीले फाइदा उठाएको उल्लेख छ । साथै साउदी अरेबियामा हवाई आक्रमणपछि बन्द भएको सातोर्प रिफाइनरी पुनः सञ्चालनमा आएको छ र दैनिक २ लाख ३० हजार ब्यारेल क्षमतामा उत्पादन भइरहेको छ ।

क्षेत्रीय सुरक्षा अवस्था भने अझै अस्थिर छ । लेबनानमा इजरायली आक्रमण चलिरहँदा पछिल्ला २ दिनमा २० जनाभन्दा धेरैको ज्यान गएको छ । राष्ट्रपति जोसेफ आउनले स्थायी वार्ताअघि युद्धविराम पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । इजरायलले भने इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध दक्षिण लेबनानमा सैन्य कारबाहीलाई निरन्तरता दिएको छ ।

सम्बन्धित खबर