
विराटनगर । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी हुँदा कोशी प्रदेश सरकारको बजेट खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को चैत्र महिनासम्म जम्मा ११ अर्ब ४ करोड ४० लाख रुपैयाँ खर्च गरेको हो ।
चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो । अर्धवार्षिक समिक्षामार्फत बजेट घटाएर ३२ अर्ब ४५ करोड ६४ लाखमा झारिएको छ ।
संशोधित बजेट अनुमानमध्ये ३१ अर्ब ५८ करोड खर्च हुने अनुमान आर्थिक मामिला तथा योजना मन्त्रालयको थियो । तर, चैत्र महिनाको अन्त्यसम्म ११ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्रै खर्च भएको हो । अब तीन महिनामा संशोधित बजेट मध्ये २१ अर्ब ४१ करोड २४ बजेट खर्च गर्ने दबाब सरकार माथि छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ ६ अर्ब ८७ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ ४ अर्ब १७ करोड २६ लाख रुपैयाँ खर्च भएको छ ।
सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय ले १० अर्ब ६५ करोड बजेटमध्ये २ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ ।
चार अर्ब ६० करोड बजेट भएको खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयले एक अर्ब ५६ करोड खर्च गरेको छ । तीन अर्ब ५८ करोडको बजेट भएको स्वास्थ्य मन्त्रालयले एक अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको छ ।
राजस्वतर्फ प्रदेश सरकारले चैत्र मसान्तसम्म २२ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक स्रोतको रकम हो ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप यो वर्ष अपेक्षा अनुसार खर्च हुने सम्भावना देख्दैनन् । मध्यपूर्वमा देखिएको तनावका कारण निर्माण क्षेत्र प्रभावित भएको बताउँदै उनले अपेक्षा अनुसारको खर्च हुनसक्ने अवस्था नरहेको बताएका हुन् ।
उनका अनुसार पेट्रोलिय पदार्थको मृल्यवृद्धि र अन्य अत्यावश्यक सामग्री अभावका कारण निर्माण व्यावसायीले काम गरेका छैनन् । ‘मूल्यवृद्धि र अभावका कारण देखाएर निर्माण व्यावयायीले काम रोकेका छन् । प्रदेश सरकारमा व्यावसायीको डेलिगेशन पनि आएको थियो’ उनले भने,‘ खर्च त अलेली भइरहेको छ, तर यसपाली लक्ष्य अनुसार खर्च हुने सम्भावना न्यून छ’ अवस्था सामान्य भए खर्च बढ्ने उनले बताए ।


