
काठमाडौं । सरकारले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थितिपत्र (श्वेतपत्र)लाई अबको आर्थिक दिशा तय गर्ने आधार दस्तावेजका रूपमा हेरिएको छ ।
पछिल्ला वर्ष सुस्त आर्थिक वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी, बढ्दो आयात निर्भरता, कमजोर कार्यान्वयन क्षमता र वित्तीय स्रोतको सीमितता जस्ता चुनौतीबीच अर्थ मन्त्रालयले हिजो श्वेतपत्र सार्वजनिक गरेको हो । श्वेतपत्रले नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीबाट घेरिएको स्वीकार गरे पनि रूपान्तरणका लागि बहुआयामिक अवसरहरू प्रशस्त रहेको निष्कर्षसहित मुख्य रणनीति तय गरेको छ ।
ऊर्जा, पर्यटन र कृषि क्षेत्रसहित सूचना प्रविधि, उत्पादनमूलक उद्योग र साना व्यवसाय प्रवर्द्धन गर्ने सरकारको रणनीतिमा उल्लेख छ । त्यस्तै गुणस्तरीय पूर्वाधार निर्माणलाई जोड दिने र यसबाट आर्थिक वृद्धिको अपेक्षा राखिएको छ । दस्तावेजमा स्थिर सरकार, सुशासन र लगानीमैत्री नीतिगत वातावरण निर्माण गर्न सके निजी क्षेत्रको विश्वास पुनः स्थापित हुने र स्वदेशी तथा विदेशी लगानी बढ्ने उल्लेख गरिएको छ ।
यसबाट उत्पादनमूलक क्षेत्र विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ । सस्तो र भरपर्दो ऊर्जा उत्पादनमार्फत औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार तथा विद्युत् निर्यातबाट स्थिर वैदेशिक आम्दानी प्राप्त गर्न सकिने स्थिति पत्रमा उल्लेख छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक र हिमाली सम्पदा नेपालको अर्को बलियो आर्थिक आधार मानिएको छ ।
पर्यटन पूर्वाधार, सेवा गुणस्तर, आवागमन सहजता र गन्तव्य व्यवस्थापन सुधार गर्न सके अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढ्ने स्थिति पत्रको निष्कर्ष छ । त्यसै गरी दस्तावेजमा कृत्रिम बौद्धिकता, रोबोटिक्स, सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतालाई आउँदो दशकको प्रमुख अवसरका रूपमा राखिएको छ ।
न्यून पुँजीमा उच्च मूल्य सिर्जना गर्ने यस्ता क्षेत्रले नेपाली युवा शक्तिलाई विश्व बजारसँग जोड्न सक्ने सम्भावनाका रूपमा समेटिएको छ । स्थिति पत्रमा कृषि क्षेत्रको आधुनिकीकरणमार्फत उत्पादन, आय र निर्यात बढाउन सकिने उल्लेख छ । वार्षिक रूपमा ठूलो रकम भित्र्याउने विप्रेषण अर्थात् (रेमिट्यान्स) लाई उपभोगमा मात्र सीमित नराखी उद्यमशीलता, सीप विकास र उत्पादन क्षेत्रमा जोड्नुपर्नेमा जोड दिइएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको अनुभव र सीपलाई घरेलु उत्पादनमा उपयोग गर्ने नीति आवश्यक रहेको उल्लेख छ । स्थिति पत्रमा देशभित्र उपलब्ध खनिज, जल, जमिन, जङ्गल र जडीबुटीको दिगो उपयोगबाट आय, उत्पादन र रोजगारी बढाउन सकिने उल्लेख छ ।
विगतमा कमजोर कार्यान्वयन क्षमता, सीमित वित्तीय स्रोत, प्राथमिकता निर्धारणमा कमजोरी तथा स्रोतको कुशल विनियोजन हुन नसक्नु समस्या रहेको स्थिति पत्रमा समेटिएको छ ।
नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दस्तावेज तयार पार्ने निर्णय गर्नुभएको थियो ।


