२०८३ वैशाख १५ मङ्गलवार , ०८:०४:२० बजे

Sajhamanch
'

झापामा पनि राहदानी अब हुलाक सेवामार्फत, बुद्धशान्तिबाट सेवाको सुरुवात

मङ्गलवार, वैशाख १५, २०८३

झापा । नेपाल सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत अब राहदानी (पासपोर्ट) वितरण कार्यलाई थप सहज र सुलभ बनाउन हुलाक सेवालाई परिचालन गरिएको छ ।

यसै क्रममा जिल्ला प्रशासन कार्यालय झापाले तयार भएका राहदानीहरू सम्बन्धित पालिकासम्म पुर्‍याउन हुलाक कार्यालयलाई जिम्मेवारी सुम्पिएको हो ।

मंगलबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालयले बुद्धशान्ति गाउँपालिकाका सेवाग्राहीहरूको ६ थान राहदानी जिल्ला हुलाक कार्यालय झापाका निमित्त प्रमुख टेकप्रसाद भट्टराईलाई हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राहदानी भट्टराईलाई हस्तान्तरण गरेका हुन्।

नेपाल सरकारको शासकीय सुधारको १०० कार्यसूची कार्यक्रम अन्तर्गत नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो ।

अबको नयाँ व्यवस्था अनुसार, राहदानी लिनका लागि सेवाग्राहीहरू सदरमुकाम चन्द्रगढीसम्म धाउनुपर्ने बाध्यता हट्ने देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले राहदानीहरू हुलाक संयन्त्रमार्फत सम्बन्धित पालिका वा नजिकको हुलाक कार्यालयमा पठाउनेछ, जहाँबाट सेवाग्राहीले सुरक्षित रूपमा आफ्नो राहदानी प्राप्त गर्न सक्नेछन् ।

यसले सेवाग्राहीको समय र खर्चको बचत गर्नुका साथै प्रशासनिक सेवामा सरलता ल्याउने जिल्ला प्रशासन कार्यालय झापाले विश्वास लिएको छ ।

सम्बन्धित खबर