२०८३ वैशाख १५ मङ्गलवार , ०४:३७:१४ बजे

Sajhamanch
'

नेपाली कांग्रेसको जरा अभियान वडातहमा : क्रियाशील सदस्यता अद्यावधिक समयमै गर्न निर्देशन

मङ्गलवार, वैशाख १५, २०८३

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जरा अभियान अन्तरगत झापाका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले क्रियाशिल सदस्यता अद्यावधिक कार्यमा वडा, गाउँ/नगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिको भूमिका महत्वपूर्ण हुने बताउँदै समयमै कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसले गत बैशाख १ गतेबाट शुरु गरेको एकमहिने जरा अभियान सफल पार्न पार्टीका तहगत समितिहरुको महत्वपूर्ण भूमिका हुने बताउँनुभएको हो ।

नेपाली कांग्रेस झापाको आयोजनामा जिल्लाका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्र, गाउँ/नगर सभापतिहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले अभियान अब वडातहमा पुगेको बताउँदै समयमै क्रियाशिल सदस्यता अध्यावधिक गर्ने कार्यसम्पादन गर्न आग्रह गर्नुभएको हो ।

अभियानका लागि अर्का केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले क्रियाशिल सदस्यता अद्यावधिक गरिसकेपछि प्रत्येक सदस्यको गतिविधि, नीति, सिद्धान्त र विचारप्रतिको प्रतिबद्धता डिजिटल प्रविधिबाटै अनुगमन गर्न सहज हुने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले यसअघि नै वडातहमा खटिनुभएका जिल्ला प्रतिनिधिहरुलाई सम्बन्धित वडामा सहजीकरण र अनुगमन गर्न आग्रह गर्नुभयो । प्रत्येक तहगत समितिहरुसँग समन्वय गरी क्रियाशिल सदस्यता अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन उहाँले प्रतिनिधिहरुलाई आह्वान गर्नुभयो ।

जिल्ला सभापति थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन उपसभापति शेरबहादुर भट्टराइले गर्नुभएको थियो भने सहजीकरण सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।

कार्यक्रममा डिजिटल प्रविधिबाट अद्यावधिक गरिने क्रियाशिल सदस्यता र यसको प्रभावबारे जानकारी दिदै सजेश शिवाकोटी र अमृत बास्तोलाले यो युग डिजिटल प्रचारको युग भएको बताउँदै यो प्रविधि नअपनाए प्रचार– प्रसार अधुरो हुने बताएका थिए । क्रियाशिल सदस्यता नवीकरण वैंकको ब्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गरेजस्तै भएको बताउँदै सामाजिक संजालको विवरण अनिवार्य भर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेसले क्रियाशिल सदस्यता अद्यावधिक गर्दै राष्ट्र–राष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले प्रारम्भ भएको अभियान अब वडा तहमा सञ्चालन हुनेछ । १५ औं महाधिवेशनलाई लक्षित गर्दै यसअघि क्रियाशील सदस्यता नवीकरण एवं नया आवेदन गरिसकेका र नगरेका सबै जिल्लाहरुमा वडा तहबाट क्रियाशिल सदस्यता अद्यावधिक गर्ने अभियान थालिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको यसअघिको बैठकले वडादेखि केन्द्रसम्मको महाधिवेशनको कार्यतालिका तय गरिसकेको छ । जसअनुसार वडा अधिवेशन भाद्र २ गते, पालिका अधिवेशन भाद्र ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भाद्र १७ गते, क्षेत्रीय अधिवेशन भाद्र २४ गते, एकमात्रै क्षेत्र भएको जिल्ला अधिवेशन भाद्र २४ गते, १ भन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन असोज २ र ३ गते, प्रदेश अधिवेशन असोज ७ र ८ गते एवं १५ औं केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको छ ।

मङ्गलवार, वैशाख १५, २०८३ | जिल्ला समाचार, राजनीति

सम्बन्धित खबर