
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मा वाणिज्य बैंकहरूको नाफा १९ दशमलव ३० प्रतिशतले बढेको छ ।
आज सार्वजनिक विवरण अनुसार २० वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । गएको वर्षको यही अवधिमा वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका थिए ।
यसमा १३ वटा बैंकको नाफा बढेको छ भने ७ वटाको नाफा घटेको छ । रकमका आधारमा नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा नबिलको नाफा ३३ दशमलव ९२ प्रतिशतले बढेको छ ।
यस्तै प्रतिशतका आधारमा कुमारी बैंक सबैभन्दा अघि छ । यस अवधिमा कुमारी बैंकको नाफा १ हजार ३६१ दशमलव ७६ प्रतिशतले बढेको छ । कुमारीले ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ ।
यस अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५४ दशमलव ६१ प्रतिशतले घटेको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ३० दशमलव ६९, कृषि विकास बैंकको २४ दशमलव ४२, एनआईसी एशिया बैंकको नाफा १० दशमलव ४९ प्रतिशतले ओरालो लागेको छ ।


