२०८३ वैशाख ९ बुधवार , १२:३४:३३ बजे

Sajhamanch
'

गैंडाकोटको सिस्नेमा सरकारी गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधवार, वैशाख ९, २०८३

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

तीव्र गतीमा थियो गाडी, गाडीभित्र भेटियो बियरको कार्टुन

ठक्कर दिने गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका)को रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार सो गाडी तीव्र गतिमा थियो । एउटा लेनमा भएको गाडी अर्को लेनमा करिब एक सय मिटर अगाडि पुगेर मात्रै रोकिएको थियो । सो गाडीभित्र अर्ना बियरको कार्टुन समेत फेला परेको छ ।

दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए । उनीहरुले घाइतेलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाएका थिए । गाडीमा अरु कोको थिए भन्ने खुलिसकेको छैन ।

सम्बन्धित खबर