
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड बिहानदेखि अवरुद्ध भएकोमा एकतर्फी खुलेको छ ।
बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी खुलेको र दुईतर्फी खुलाउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । लेन अनुशासनको पालना गरी यात्रा गर्न तथा बाटोको अवस्थाबारे थप जानकारी लिनुपरेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीको आग्रह छ ।
यसअघि राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा गाडी ‘होल्ड’ गरेर राखिएको थियो । सडक एकतर्फी खुलेपछि बिस्तारै गाडी चल्न थालेका छन् ।
गएको वर्ष असोजको बाढी पहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएका छन् ।
अहिले त्यस क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।


