२०८३ वैशाख ६ आइतवार , १२:५२:२७ बजे

Sajhamanch
'

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग ४४ रनले पराजित

आइतवार, वैशाख ६, २०८३

काठमाडौं । आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको छ ।

रुवान्डामा हिजो भएको खेलमा १२४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७९ रनमा समेटियो । नेपालका ओपनर विन्दु रावल र कविता जोशीबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । ३६ रन जोड्दा नेपालले ६ विकेट गुमाइसकेको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । अमेरिकाका लागि पूजा गणेशले सर्वाधिक ४७ रन जोडिन् । गार्गी भोग्लेले ३४ र चेतना पागड्यालाले ३० रन बनाइन् ।

अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालकी मनिषा उपाध्यायले २ विकेट लिँदा कविता कुँवर र रीता सर्नाले समान १र१ विकेट लिए ।

प्रतियोगितामा नेपाल र अमेरिकासहित इटाली, रुवान्डा र भानुआतु छन् । सबै टोलीले एक अर्कासँग दुई पटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

हिजोदेखि शुरू भएको प्रतियोगिता वैशाख १८ गतेसम्म चल्नेछ । आईसीसीले पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो ।

सम्बन्धित खबर