
काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखिदिएको छ। बिहीबार सुरु भएको बहस पूरा नभएपछि अदालतले मुद्दालाई “हेर्दाहेर्दै”मा राखेको हो ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको प्रारम्भिक सुनुवाइमा पक्ष–विपक्षका तर्क सुन्न थालिए पनि समय अभावका कारण प्रक्रिया अधुरै रह्यो। अब यो मुद्दामा शुक्रबार पुनः सुनुवाइ हुने तय भएको छ।
यो विवाद पार्टीभित्रैको शक्ति संघर्षसँग जोडिएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ समिति चयन गरेपछि विवाद चर्किएको थियो। निर्वाचन आयोगले नयाँ कार्यसमितिलाई मान्यता दिएपछि पुरानो नेतृत्व अदालत पुगेको हो।
सर्वोच्चले यसअघि अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग स्पष्टीकरण मागेको थियो। अहिले सबै पक्षका जवाफ अदालतमा पुगिसकेका छन् र विस्तृत बहस भइरहेको छ।
यो मुद्दाको अन्तिम निर्णयले नेपाली कांग्रेसको नेतृत्व संरचना मात्रै होइन, पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको राजनीतिक दिशा नै निर्धारण गर्ने भएकाले चासो बढेको छ।


