
बिर्तामोड । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडस्थित मुक्तिचोकमा नेपाल टेलिकमको दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याउँदा सयौं सेवाग्राही प्रभावित भएका छन् ।
आज राति करिब साढे २ बजेको समयमा तामाको केबल चोरी गर्ने उद्देश्यले एफटिटिएच सेवाका लागि प्रयोग हुने एफडीसी ००१ का चारवटा २४ कोर फाइबर केबलहरू ह्याक्सो ब्लेडले काटिएको अवस्थमा फेला परेको नेपाल टेलिकमले जनाएको छ ।
जिल्लाको प्रमुख शहरको मुख्यचोक मुक्तिचोक क्षेत्रम भएको चोरीले टेलिकमको अत्यन्तै संवेदनशील मानिने इन्टरनेट र टेलिफोन सेवा प्रभावित भएको हो ।
केबल काटिएका कारण बिर्तामोड क्षेत्रका ५०० भन्दा बढी घरधुरी तथा व्यावसायिक प्रतिष्ठानहरूको इन्टरनेट र टेलिफोन सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । अत्यावश्यक दूरसञ्चार सेवा बन्द हुँदा यस क्षेत्रका बैंक, वित्तीय संस्था र व्यापारिक संस्थाहरूको दैनिक कार्य सम्पादनमा प्रत्यक्ष असर पर्नुका साथै नेपाल टेलिकमलाई ठूलो आर्थिक नोक्सानी भएको जनाइएको छ ।
फाइबर केबल काट्न अपराधीहरूले करिब एक घण्टा समय खर्चिएको देखिए पनि सो अवधिभर सुरक्षा निकाय वा निगरानीको उपस्थिति नदेखिएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकम बिर्तामोडका निमित्त कार्यालय प्रमुख इन्द्र रमण भण्डारीले सार्वजनिक सम्पत्तिमाथि भइरहेको यस्तो संगठित तोडफोड र चोरीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार यसअघि पनि पटक–पटक यस्ता घटनाका बारेमा सुरक्षा निकायलाई जानकारी गराइएको हो । तर अपेक्षित सुरक्षा व्यवस्था हुन नसक्दा अपराधीहरूको मनोबल बढेको भण्डारीले सुनाउनु भयो ।
टेलिकम प्रशासनले यस घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिई दोषीको तत्काल पहिचान गर्न र उनीहरूलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेको छ ।


