२०८३ वैशाख ३ बिहिवार , १०:५५:२१ बजे

Sajhamanch
'

सरकारी अस्पतालका डाक्टरहरुले पनि पाए शनिबार र आइतबार बिदा

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ । तर, आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाहरू भने पहिले झैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा र १४ वटा पेसागत संगठनका प्रतिनिधिबीच मन्त्रालयमा आज भएको छलफलपछि सरकारले यो निर्णयमा लचकता देखाएको हो ।

मन्त्रालयका स्रोतका साताको दुई दिन बिदा गर्ने सहमति भइसकेको छ । ‘स्वास्थ्य मन्त्रालय र पेशा संगठनबीच भएको सहमतिमा शनिबार र आइतबार बिदा गर्ने सहमति भएको छ’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रालय प्रेस विज्ञप्ति नै निकाल्न लागेको छ । केही समयमा औपचारिक निर्णय बाहिर आउँछ ।’

दुई दिन ओपिडी सेवा बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता भने थप विस्तार गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मी पनि अन्य सरकारी कर्मचारीसरह दुई दिन बिदाको हकदार हुनुपर्ने माग गर्दै आएको थियो । उनीहरूले बढ्दो कार्यबोझ र मानसिक तनावलाई कारण देखाउँदै आन्दोलनको चेतावनीसमेत दिएका थिए ।

यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका थिए ।

मन्त्रालयको उक्त अडानविरुद्ध स्वास्थ्यकर्मीहरूले संयुक्त आन्दोलनको चेतावनी दिएपछि अन्ततः सरकारले अस्पतालहरूमा पनि दुई दिन बिदा लागू गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खबर