२०८१ वैशाख २७, बिहिवार , ०३:३०:१६ बजे

Sajhamanch
'

बिर्तामोडका वडा सदस्यहरुलाई तालिम

शनिवार, वैशाख १५, २०८१

बिर्तामोड । बिर्तामोढ नगरपालिकाका वडा सदस्यहरुको लागि क्षमता विकास सम्बन्धी तालिम बिर्तामोडमा सुरु भएको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले यस प्रकारका तालिम, गोष्टीले काममा आत्मविश्वास् बढ्ने बताउँदै तालिममा सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरिन् । जनप्रतिनिधिले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा उनको जोड थियो ।

यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जनप्रतिनिधिले पार्टीगत आधारमा नभई स्वतन्त्र र न्यायिक ढंगले जनतालाई सेवा दिनु पर्नेमा जोड दिए । उनले स्थानीय सरकारको सुशासन दिने कुरामा ५५ जना जनप्रतिनिधि नै लागेको बताए ।

विकास योजनाको अवधारणा, स्थानीय तहको योजना प्रक्रिया, स्थानीय सुशासन र जवाफदेहिता, जलवायु परिवर्तनमा स्थानीय तहको भूमिका, उपभोक्ता समिति र लेखा पद्दति लगायतका विषयमा तालिम प्रदान गरिने जनाइएको छ ।

नगरपालिकाका योजना शाखा प्रमुख जय तिम्सिना, लेखा अधिकृत तेजेन्द्र तामाङ, गैर सरकारी संस्था महासंघका प्रदेश सचिव सोमराज ढकाल र झापा सचिव विजय तिम्सिनाले प्रशिक्षण दिइरहेका छन् ।

गैर सरकारी संस्था महासंघको सहयोगमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिममा ४३ जनाले सहाभागिता जनाएका छन् ।

तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, गैर सरकारी संस्था महासंघका अध्यक्ष कृष्णप्रसाद दंगाल, महासंघका केन्द्रीय सदस्य छवि खतिवडा, कोषाध्यक्ष मनोज घिमिरे लगायतको सहभागिता थियो ।

सम्बन्धित खबर