२०८१ जेठ ७, सोमवार , ०२:३०:४७ बजे

Sajhamanch
'

कोशीमा एमालेले भन्यो : मुख्यमन्त्री कामचलाउ भइसके, प्रदेश प्रमुखले आजै सरकार गठन आह्वान गर्नुपर्छ

बुधवार, वैशाख २६, २०८१

विराटनगर । नेकपा एमालेले कोशीका मुख्यमन्त्री केदार कार्की मंगलबार रातिदेखि पदमुक्त भएर हाल कामचलाउ अवस्थामा रहेको दाबी गरेको छ ।

मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्नेमा नलिएका कारण २५ वैशाखको राति १२ बजे स्वतः पदमुक्त भएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

‘उहाँ अल्पमतमा परेको कुरा त गएको वैशाख ७ गते प्रदेशसभाको अधिवेशनमा संकल्प प्रस्तावको पक्ष र विपक्षमा भएको मतदानबाट उहाँकै अगाडि प्रमाणित भइसकेको छ । संसदीय प्रणालीमा नेपालको संविधान र सर्वोच्च अदालतको व्याख्या अनुसार उहाँ गएराति १२ बजेदेखि पदमुक्त हुनुभयो । उहाँ कामचलाउ मुख्यमन्त्री हुनुहुन्छ’, उनले पत्रकारहरुसँग भने ।

अहिले कोशीमा सरकार रिक्तताको अवस्था रहेको भन्दै भण्डारीले प्रदेश प्रमुख परशुराम खापुङले आजै नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने बताए । ‘उहाँले समय सीमा तोकेर संविधानको कुन धारा टेकेर नयाँ सरकार गठन आह्वान गर्ने हो, गर्नुपर्छ’ उनले भने ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मिलीजुली सरकारको मुख्यमन्त्री दाबी गर्न वा १६८ ९५० अनुसार प्रदेशसभामा बहुमत पुर्‍याउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री दाबी गर्न आह्वान गर्नुपर्ने भण्डारीले बताए ।प्रदेश प्रमुखले सरकार गठनको आह्वान नगर्ने हो भने अहिलेकै सरकार ठीक छ भनेर भन्नुपर्ने उनले बताए ।

‘आज प्रदेश प्रमुखज्यूले म सरकार गठनको अर्को प्रक्रियामा जान्न, यही सरकार ठीक छ भन्नुपर्‍यो, होइन भने सूचना निकाल्नुपर्छ’, उनले भने ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २६ चैतमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । सत्ता साझेदारले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै एमाले र माओवादीले मुख्यमन्त्री कार्की मंगलबार राति १२ बजेदेखि पदमुक्त भएको दाबी गरिरहेका छन् ।

सम्बन्धित खबर