२०८१ जेठ ६, आइतवार , ०९:२७:०१ बजे

Sajhamanch
'

गाउँपालिका अध्यक्षलाई कमलका शिक्षकको ज्ञापनपत्र

बुधवार, वैशाख २६, २०८१

कमल । नेपाल राष्ट्रिय शिक्षक संगठनले विभिन्न माग राखेर कमल गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।

संगठनले गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी मार्फत पालिकाका अध्यक्ष हुकुमसिंह राईलाई आज ज्ञापन पत्र बुझाएको हो ।

संगठनले शिक्षा क्षेत्रमा संलग्न पेशाकर्मीहरुको हकहित र अधिकार स्थापना, संरक्षण र सम्बर्धन गर्दै नेपालमा शिक्षकहरुले हाल प्राप्त गरिरहेका थुप्रै पेशागत अधिकारलाई सुनिश्ति गर्न तथा पालिकाका विद्यालयहरुमा देखापरेका कठिनाई तथा समस्याहरुको अन्त्य गर्न उचित पहलका लागि ज्ञापन पत्र बुझाएको जनाएको छ ।

संगठनका राष्ट्रिय प्रतिनिधि तथा नेपाल शिक्षक महासंघ कमल गाउँ समितिका अध्यक्ष मोहनकुमार बगालेका अनुसार वर्तमान परिवर्तित परिस्थितिमा संविधानको प्रावधान अनुसार स्थानीय तह नै विद्यालय सञ्चालनको प्रमुख जिम्मेवार निकाय भएको ठहर गरिएको छ ।

स्थानीय तहले सञ्चालन गर्ने गतिविधिले सम्बन्धित विद्यालयहरुमा कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थीहरु र अभिभावकहरु समेतमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँ समितिले समसामयिक विषयहरुमा गरिएको निर्णयमा बारेमा अध्यक्ष राईलाई जानकारी गराएको अध्यक्ष मधुसुदन अधिकारीले बताए ।

गाउँपालिकालाई बुझाएको ज्ञापन पत्रमा पालिकाले तयार गरी विद्यालयमा लागू गर्नुपर्ने स्थानीय पाठ्यपुस्तक यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउनु पर्ने भनिएको छ ।

यस्तै, विद्यालयहरुमा उपलब्ध गराइएको गत आर्थिक वर्षको खाजा खर्चमा देखाइएको बेरुजु रकम नियमित प्रकृयाबाट नै विद्यालयले फर्छ्यौट गरिसकेको हुँदा उक्त बेरुजु रकम विद्यालयको नामबाट हटाउने व्यवस्था मिलाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

चालु अर्थिक वर्षको बाल विकासको लागि वितरण गरिने भनिएका पाठ्यपुस्तकहरु समयमा नै विद्यालयलाई उपलब्ध रगाउनु पर्ने लगायत ११ बुँदा रहेको ज्ञापन पत्र अध्यक्षलाई बुझाइएको उल्लेख छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएका कतिपय विषय समाधान गर्नका लागि गाउँपालिकाले सम्बन्धित शाखालाई निर्देशन दिएको र बाँकी रहेका विषयहरुमा समेत छलफल गर्दै सकेसम्म छिटो समस्या समाधान गर्नेतर्फ पालिका लाग्ने अध्यक्ष राईको भनाई छ ।

सम्बन्धित खबर