२०८१ वैशाख २३, आइतवार , ०४:४०:५० बजे

Sajhamanch
'

झापा गाउँपालिकाद्वारा ६३० विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण

मङ्गलवार, वैशाख ११, २०८१

झापा । माध्यमिक तहसम्मको शिक्षामा सहज पहुँचको वातावरण निर्माणका लागि झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीलाई वार्षिक कार्यतालिका अनुसार शिक्षा समितिले छात्रवृत्ति वितरण गरेको हो ।

गाउँ शिक्षा समिति अध्यक्ष एवं गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु थपलियाका अनुसार गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले रकम अभावका कारण कुनै पनि विद्यार्थीले उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गरिएको हो ।

पालिकाका कार्यवाहक अध्यक्ष थपलियाका अनुसार पालिकाले छात्रवृत्तिस्वरुप कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार २५० रुपैयाँ र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार २०० रुपैयाँ र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले रकम वितरण गरेको छ ।

गाउँ शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालका अनुसार ११ र १२ पठनपाठन हुने जनकल्याण माविमा अध्यनरत ५६ विद्यार्थी, डिल्लीराज माविमा अध्यनरत ३५२ विद्यार्थी र जनता माविमा अध्यनरत २२२ विद्यार्थीलाई पालिकाको नीति तथा कार्यक्रम मार्फत छुट्याएको बजेटबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

झापा गाउँपालिका भित्र २१ वटा सामुदायिक विद्यालय तथा १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा विद्यालय सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिए ।

झापा गाउँपालिकाले २०७५ सालदेखि नै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ । विद्यार्थीलाई विद्यालय जाने वातावरण बनाउने उद्देश्यले प्रत्येक वर्ष कक्षा ९ मा अध्यनरत विद्यार्थीलाई साइकलसमेत प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर