२०८१ वैशाख १८, मङ्गलवार , ०९:४३:५७ बजे

Sajhamanch
'

एनएमसीद्वारा कर्जा किस्ता बुझाउने सदस्यलाई आकर्षक छुटको घोषणा

मङ्गलवार, वैशाख ४, २०८१

झापा । देशकै अग्रणी सहकारीका रुपमा स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले आफ्ना ऋणी सदस्यहरुका लागि आकर्षक छुट सुविधा लागू गरेको छ ।

विगतमा कोभिड १९ महामारी तथा पछिल्लो आर्थिक कारोबारमा संकुचन आई उद्योग, व्यापार र लगानीबाट अपेक्षित आम्दानी हुन नसकेपछि संस्थाको कर्जा बुझाउन अप्ठ्यारोमा परेका सदस्यहरुका लागि यो छुट सुविधा ल्याइएको संस्थाले जनाएको छ ।

विगतमा कर्जा उपभोग गरेका सदस्यहरुमध्ये विभिन्न कारणबाट कर्जाको नियमित किस्ता बुझाउन छुट भएका, किस्ता बुझाउने भाखा नाघेका र कर्जा हर्जाना समेत गणना भएको अवस्थामा सदस्यहरुलाई कर्जा भुक्तानी गर्न, कर्जालाई नियमित गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यसप्रकारको छुट सुविधा दिइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले बताएका छन् ।

सो छुट सुविधा अन्तर्गत कर्जा उपभोग गरेका सदस्यहरुले आफ्नो भाखा नाघेको कर्जा एकमुष्ठ चुक्ता गर्न चाहेमा ब्याज तथा हर्जानामा २५ प्रतिशत छुट सुविधा प्राप्त गर्ने उनले बताए । उनका अनुसार सदस्यले भाखा नाघेको कर्जा चुक्ता नगरी साविकको ब्याज तथा हर्जाना बुझाई कर्जालाई नियमित गर्न चाहेमा हर्जानामा ५० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् ।

संस्थाले चैत १५ गतेदेखि लागू हुनेगरी कर्जाका विभिन्न प्रोडक्टहरुलाई ० दशमलव ४० देखि १ प्रतिशतसम्म ब्याजदर कम गरेको थियो । एनएमसीले सदस्यहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्न र व्यापार व्यसाय सञ्चालन गर्न यसै आर्थिक वर्षदेखि १२ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्मको लघू कर्जा समेत छिटो र छरितो प्रक्रियाबाट लगानी गर्दै आएको छ ।

संस्थाको हाल बचत तथा ऋण कारोबारतर्फ झापामा ४५ वटा, इलाममा ६ वटा र मोरङमा ७ वटा गरी जम्मा ५८ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् ।

एनएमसी कोशी प्रदेशकै उत्कृष्ट सहकारी

सहकारी संस्थाहरुमध्ये देशकै स्थापित सहकारी संस्थाको सूचिमा रहेको एनएमसी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८० बाट सम्मानित हुने भएको छ ।

राष्ट्रिय सहकारी महासंघले चैत २० गते राष्ट्रिय सहकारी दिवसका अवसरमा एनएमसीलाई सात प्रदेशमध्ये कोशी प्रदेशको उत्कृष्ट सहकारीको रुपमा सम्मानित गर्ने घोषणा गरेको हो ।

वि.सं. २०५० सालमा स्थापित एनएमसी विगतदेखि नै विभिन्न पुरस्कार तथा सम्मानहरुबाट सम्मानित हुँदै आएको छ । एनएमसीले बचत तथा ऋणसँगै डेरी व्यवसाय, एनएमसी एग्रो फार्म, सहकारी पसल र चिया उद्योग सञ्चालन गर्दै आएको छ ।

नेपालमा सञ्चालनमा रहेका सहकारीहरुमध्ये बहुउद्देश्यीय प्रकृतिको सहकारीले गरेको व्यवसाय विविधिकरणको अभ्यासमा एनएमसी नमूना संस्थाको रुपमा परिचित बन्दै गएको छ ।

सम्बन्धित खबर