२०८३ जेठ १८ सोमवार , १२:१३:०४ बजे

Sajhamanch
'

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने

सोमवार, जेठ १८, २०८३

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने भएको छ ।

भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा हिजो भएको समूह ‘बी’को अन्तिम खेलमा घरेलु टोली भारतले बङ्गलादेशलाई ३–० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।

अब सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ । नेपाल समूह ‘ए’ को विजेता बनेको छ भने बङ्गगलादेश समूह ‘बी’ को उपविजेता बन्यो । समूह ‘ए’बाट यसअघि नेपाल समूह विजेता र भुटान समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरिसकेको छ ।

समूह ‘बी’बाट घरेलु टोली भारत समूह विजेता र बङ्गलादेश समूह उपविजेताको रूपमा सेमिफाइनल पुगेका हुन् । सेमिफाइनलका खेलहरु पर्सि बुधवार हुनेछन् । आठौँ संस्करणको साफ महिला च्याम्पियनशिपको फाइनल खेल यही जेठ २३ गते हुनेछ ।

भारतले सबैभन्दा धेरै ५ पटक उपाधि जितेको छ भने बङ्गलादेश पछिल्लो दुई संस्करणको विजेता हो । पछिल्लो दुई संस्करणको फाइनलमा बङ्गलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो ।

सन् २०२२ र २०२४ मा काठमाडौंमा भएका साफ महिला च्याम्पियनशिपमा नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो ।

नेपाल अहिलेसम्म ६ पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन छ ।

सम्बन्धित खबर