२०८३ जेठ १७ आइतवार , ११:३२:३४ बजे

Sajhamanch
'

आज सुर्तीजन्य पदार्थविरुद्धको दिवस : नेपालमा वार्षिक ३९ हजार जनाले ज्यान गुमाउँदै

आइतवार, जेठ १७, २०८३

काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस, नेपालसहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ । त्यस्तै विश्वभर १ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् ।

विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । हरेक वर्ष मे ३१ तारिखमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो ।

यस वर्षको दिवसको अवसरमा डब्लयूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ । सङ्गठनका अनुसार विश्वभर किशोर उमेर समूहमा विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग निरन्तर बढिरहेको छ ।

विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत तिनले किशोर र युवालाई अम्मली बनाएका सङ्गठनको भनाइ छ । निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुनसक्ने डब्लूएचओले जनाएको छ ।

डब्लयूएचओले स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर