२०८३ जेठ ६ बुधवार , ०९:२८:४० बजे

Sajhamanch
'

क्यान झापाको क्रियाशीलता : एकै दिन तीनवटा कार्यक्रम

बुधवार, जेठ ६, २०८३

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापाले हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय सहयोगमा मंगलबारदेखि दुई स्थानमा तालिमको प्रारम्भ गरेको छ भने एउटा तालिमको समापन गरेको छ ।

विभिन्न उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा कार्यरत जनशक्तिहरुको कम्प्युटर प्रविधिमा आधारित काममा क्षमता अभिवृद्धि गराउने उद्देश्यले इन्स्योर परियोजनाले एसयुटीमा लगानी गरिरहेको हो । स्वीस सरकारको लगानीमा हेल्भेटास नेपाल इन्स्योर परियोजनाले क्षमता अभिवृद्धि तालिम गराउँदै आएको छ भने क्यान झापाले यसको संयोजन तथा आयोजना गरेको हो ।

तालिम अन्तरगत मंगलबार बिहान दमकस्थित पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानमा २० जनाको लागि ग्राफिक डिजाइनिङ एण्ड प्रि–प्रेस तालिम उद्घाटन गरियो भने सोही विषयको तालिम पूरा गरेका २० जना प्रशिक्षार्थीहरुलाई अपरान्ह बिर्तामोडमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो ।

क्यान झापाका अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा आयोजित दुईवटै कार्यक्रममा हेल्भेटास नेपाल इन्स्योर परियोजनाका टिईभीटी कार्यक्रम संयोजक रेखा उप्रेतीले तालिमको लक्षित उद्देश्य, सहभागीहरुको उत्सुकता र उपलब्धी एवम् क्यान झापाको संयोजनप्रति खुसी व्यक्त गर्नुभयो ।

उहाँले स्वीस जनताले तिरेको कर हामी नेपालीको सीप अभिवृद्धिमा खर्च भइरहेकोले यसलाई अनुदानका रुपमा भन्दा पनि अवसरका रुपमा ग्रहण गरी तालिम पछिको कार्यस्थल पनि थप परिणाममुखी बन्नेमा आशा व्यक्त गर्नुभयो ।

हेल्भेटास नेपाल इन्स्योर परियोजनाले लगानी गरेको तालिम लिएका हरेक प्रशिक्षार्थीको आगतबारे निरन्तर २ वर्षसम्म निगरानी गरिरहने नीति भएकाले सबै प्रशिक्षार्थीहरुले उक्त तालिममा सिकेको सीपलाई जीवनोपयोगी बनाउन अनिवार्य रहेको टिईभीटी कार्यक्रम संयोजक उप्रेतीले जानकारी गराउनु भयो ।

दमकमा उद्घाटित ग्राफिक डिजाइनिङ एण्ड प्रि–प्रेस तालिम कार्यक्रमका प्रमुख अतिथि दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले निजी क्षेत्रले दक्ष जनशक्ति नपाइरहेको अवस्थामा यो तालिम प्रभावकारी बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ८ हजारभन्दा बढी उद्योगी व्यवसायी र २० हजारभन्दा बढी श्रमिक रहेको दमक नगरमा सीप अभिवृद्धिका लागि दिइने तालिमले गुणस्तरीय व्यवसाय अभिवृद्धि गर्न मद्धत पुग्ने भएकाले पालिकासँग पनि यस्तो अवसर माग गरिएको बताउनु भयो ।

तालिमको सहजीकरण गरिरहेको प्रथम आईटी सिस्टम प्रालिका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले दमकमा उद्घाटित तालिम कार्यक्रममा प्रशिक्षार्थीहरुलाई के सिक्ने, कसरी गर्ने, अनुपस्थित भएमा के हुन्छ जस्ता नीतिगत कुराहरु अवगत गराउनु भएको थियो ।

यस्तै बिर्तामोडमा आयोजित ग्राफिक डिजाइनिङ एण्ड प्रि–प्रेस तालिम समापन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले डिजाइनको अवश्यकता जहातहीँ रहेकाले यो जीवनोपयोगी सीप रहेको बताउनु भयो ।

‘सिकाईको क्षितिज अनन्तसम्म छ, जति सिक्यो उत्ति नै सीप धारिलो बन्दै जान्छ’ नगर उपप्रमुख संग्रौलाले भन्नुभयो, ‘नेपालीजनमा चेतनाको स्तर पनि यस्तै हुन आवश्यक छ, जसले जीवनमा सकारात्मक परिवर्तन ल्याउ सकोस् ।’

डिजाइनले पेपर भ्यालु र क्वालिटीमा वृद्धि गर्ने धारणा राख्नु हुँदै उहाँले तालिम लिएका डिजाइनरहरुलाई बिर्तामोड नगरपालिकाको पाश्र्वचित्र तयार गरेर उपलब्ध गराउन आव्हान पनि गर्नुभयो ।
असन्तुष्टिहरुबाटै सिर्जना जन्मने भएको इतिहासलाई स्मरण गर्दै क्यान झापाले यस प्रकारको तालिम प्रदान गरेर युवा जनशक्तिको दक्षता अभिवृद्धि गरेकोमा धन्यवाद पनि दिनुभयो ।

उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुमध्ये सोयल ठकुरी उत्कृष्ट भई आयोजकबाट पुरस्कृत हुनुभयो भने राजु खतिवडा र निश्चल खनालले सीप अभिवृद्धि तालिमका सकारात्मक नकारात्मक पक्षका बारेमा अनुभव सुनाउनु भएको थियो ।

सोही समापन कार्यक्रमका बीच २० जनाको लागि फ्रन्टइन्ड एण्ड वेब डेभलपमेन्ट तालिमको पनि सुरुवात गरिएको छ । लिडिङ इजले सञ्चालन गर्ने उक्त ६० घण्टे तालिमको संयोजन वाप्पा शाहाले गर्ने जनाइएको छ ।

उक्त दुईवटै कार्यक्रममा क्यान झापाका उपाध्यक्ष लोकप्रिय खनालले आमन्त्रित अतिथिहरुलाई शाब्दिक स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्यान झापाका सदस्य गोपाल काफ्लेले गर्नुभएको थियो ।

सम्बन्धित खबर