
काठमाडौं । मलेशिया सरकारले दुई देशबीच सम्पन्न श्रम सम्झौताअनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र तोकिएको सेवा शुल्क सङ्कलन भइरहेको बताएको छ ।
मलेशिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै मलेशियाले आफ्नो अडान स्पष्ट पारेको छ । काठमाडौंमा रहेको मलेशियालीसियन दूतावासले आज निकालेको सूचनामा दुई देशबीच सम्पन्न श्रम सम्झौताकै आधारमा नेपालमा बायोमेडिकल प्रणाली (बीएमएस) मार्फत स्वास्थ्य परीक्षण सञ्चालन भइरहेको छ र शुल्क सङ्कलन पनि त्यही सम्झौतामा तोकिएअनुसार हुँदै आएको उल्लेख छ ।
सम्झौताअनुसार यो परीक्षण गर्न ३६ वटा स्वास्थ्य संस्थालाई नियुक्त गरिएको छ । श्रम मन्त्रालयले तोकेको ६ हजार ५०० रुपैयाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोगबापत थप ३ हजार रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ । यो सम्पूर्ण खर्च मलेशियाका रोजगारदाताले व्यहोर्ने र पहिलो महिनाको तलबमार्फत फिर्ता गर्ने व्यवस्था छ ।
बीएमएस प्रणाली कार्यान्वयनको जिम्मेवारी म्याक्रो टेक प्रालि र वेस्टिनेट एसडीएन बीएचडीलाई दिइएको छ । यी कम्पनीले शुल्क सङ्कलन र रकम हस्तान्तरणसम्मको काम गर्छन् ।



