२०८३ जेठ ४ सोमवार , ०५:३४:५९ बजे

Sajhamanch
'

स्कटल्यान्डलाई हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लियो

सोमवार, जेठ ४, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ ।

स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले नटआउट ७४, ईशान पाण्डेले ५५ रन बनाए । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक हो । स्कटल्यान्डका मार्क वाटले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३, माइकल इङ्ग्लिशले ५१ रन बनाए । नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ विकेट लिए ।

यो जीतसँगै नेपाल लिग–२ तालिकामा २७ खेलमा २२ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । यस्तै स्कटल्यान्ड ३१ खेलमा ३८ अङ्कसहित शीर्ष स्थानमा र अमेरिका २६ खेलमा ३६ अङ्कसहित दोस्रो स्थानमा छ ।

कीर्तिपुरमा चलिरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो ।

आजको खेलमा सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । २५ वर्षीय सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो १५० खेलमा विकेट लिने खेलाडी बनेका हुन् ।